भदाै - ९ । स्वास्थ्य चौकीको भवन निर्माणका लागि बाग्लुङ जिल्लाको अमरभूमि गाविसका पाँच जना व्यक्तिले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् ।
करिब रु सात लाख ६० हजार मूल्य बराबरको चार रोपनी ११ आना जग्गा निःशुल्क प्राप्त भएको अमरभूमि स्वास्थ्य चौकीले जनाएको छ ।
अमरभूमि–३ का नन्दकली नाईसाले रु दुई लाख बराबरको एक रोपनी चार आना, सोही ठाउँका जनक घर्तीले रु ६० हजार बराबरको पाँच आना एक दाम, अमरभूिम–२ का मनबहादुर पुनले करिब रु एक लाख ७० हजार बराबरको एक रोपनी एक आना जग्गा प्रदान गरेका छन् ।
यस्तै, चन्द्रवीर घर्तीले रु एक लाख ६० हजार बराबरको एक रोपनी र गौरी विश्वकर्माले रु ५० हजार बराबरको ११ आना जग्गा स्वास्थ्य संस्थालाई निःशुल्क दिनुभएको स्वास्थ्य चौकीका अहेव सीता थापाले जानकारी दिएका हुन् ।
जिल्लामा आव २०७१-०७२ मा १० वटा स्वास्थ्य चौकीका नयाँ भवनको निर्माण कार्य सुरु भएको थियो । केही निर्माण सम्पन्न भएको र केही अझै निर्माणको चरणमा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले जनाएको छ । यस वर्ष पनि केही नयाँ भवनका लागि स्वास्थ्य सेवा विभागमा पहल थालिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताएका छन् ।