
भदाै - ९ । कोलम्बिया सरकार र त्यहाँको बिद्रोही समूहबीच भएको शान्ति सम्झौताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।
राष्ट्रसंघीय महासचिव बान कि मुनका तर्फबाट उनका प्रवक्ताले बिहीबार प्रकाशन गरेकाे सन्देशमा कोलम्बियामा शान्ति स्थापनाका लागि भएको सो प्रयासको स्वागत गरेकाे उल्लेख गरिएको छ ।
कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह र त्यहाँको सरकारबीच वार्ताका माध्यमबाट सबै समस्याको समाधान खोज्नेगरी सहमति भएको थियो ।
कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल स्यान्टोस र त्यहाँको सो विद्रोही समूहका प्रमुख तिमोलिन जिमेनेजलाई उहाँले बधाई सन्देश पठाउँदै यस शान्ति सम्झौताका माध्यमबाट देशमा दिगो शान्ति स्थापनाका लागि सहयोग पुगोस भनी शुभकामना व्यक्त गरेका छन् ।
कोलम्बिया सरकार र यहाँको एक विद्रोही समूहबीच क्युवाको हवानामा सन् २०१२ देखि नै शान्ति प्रक्रिया सुरु भएको थियो ।
करिब पाँच दशक लामो कोलम्बियाको सशस्त्र विद्रोहको अन्त्यका लागि भएको सो सम्झौताको सर्वत्र स्वागत भएको पनि त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।
जनाइएअनुसार सो विद्रोहका कारण समस्यामा परेका सबै कोलम्बियाली नागरिकलाई पनि उनले बधाई ज्ञापन गरेका छन् ।
राष्ट्रपति ओबामाको बधाई
यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि सो शान्ति सम्झौताका लागि कोलम्बियाका राष्ट्रपतिलाई बधाई ज्ञापन गरेका छन् ।
उनले बिहीबार बिहान फोन गरेर राष्ट्रपति स्यान्टोसलाई बधाई ज्ञापन गरेकाे बताइएको छ । ह्वाइटहाउसका अनुसार उनले टेलिफोनमार्फत राष्ट्रपतिमार्फत कोलम्बियाली नागरिकलाई पनि बधाई दिएका थिए ।
kolambiya
united nations