भदाै - ९ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने भएको छ ।
अस्पतालको ५७ औँ वार्षिकोत्सवको अवसरमा निर्देशक प्रा डा जागेश्वर गौतमले निकट भविष्यमै मिडवाइफ्री-नर्सिङ कलेज सञ्चालन गर्ने, आफ्नै औषधि पसल खोल्ने, सिटीस्याक्न र एमआरआई सेवा सुरु गर्ने, स्याटेलाइट अस्पताल सञ्चालन गर्ने, अक्सिजन प्लान्ट सुरु गर्ने र सोलार प्रणाली जडान गर्न गृहकार्य भइरहेको जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले भने – “मातृ स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न यस अस्पतालले ठूलो भूमिका निर्बाह गरेको छ । नेपालको एकमात्र प्रसूति गृहको विकासका लागि मन्त्रालय सहयोग गर्न तयार छ ।”
नेपालका लागि भारतीय राजदूतावासका प्रतिनिधि ज्ञानवीर सिंहले नेपालको स्वास्थ्य क्षेत्रमा भारत सरकार सधैँ सहयोग गर्न तत्पर रहेको बताए । उनले प्रसूति गृहको स्थापनाकालदेखि नै भारत सरकारको सहयोग रहिआएको चर्चा गर्दै स्वास्थ्य क्षेत्रमा सबै खालका सहयोग जारी रहने बताएका छन् ।
अस्पाताल विकास समितिका अध्यक्ष डा नन्दप्रसाद शर्माले पर्याप्त शै्यया नहुँदा बिरामीको चाप धान्न गाह्रो परिरहेको उल्लेख गर्दै अस्पतालमा ४१५ शै्यया पर्याप्त नहुँदा बिरामीको चाप धान्न र स्तरीय सेवा दिन चुनौती थपिएको छ भने ।
आव २०७२÷७३मा बहिरङ्ग सेवामा प्रसूति सेवामा ५२ हजार ८१४ र स्त्रीरोग उपचारमा २५ हजार २३० बिरामी र बच्चाको खोप, बाँझोपन, परिवार नियोजनमा एक लाख ३६ हजार ६४६ बिरामीले अस्पतालबाट सेवा लिएका थिए ।