राजनीति News

गुटका कारण मौकामा चौका हानेका मन्त्रीहरु

गुटका कारण मौकामा चौका हानेका मन्त्रीहरु

New Mantri

गुटका कारण कांग्रेस हायलकायल भएपनि केही व्यक्तिलाई भने मालामाल भएको छ । गगन थापा र शंकर भण्डारी गुट नभएको भए सायदै हुंने थिए । निरन्तर खुमबहादुर खड्काको पक्षमा रहेका तनहुँका शंकर भण्डारी वनमन्त्री बन्न सफल भएका छन् । रामचन्द्र पौडेलको गृहजिल्लाबाट प्रतिनिधित्व गर्ने भएपनि उनी खड्काको पक्षमा लागेका थिए । खड्काकै साथ र धापमा उनले एकपछि अर्को राजनीतिक उचाईं लिएका हुन् ।

स्ववियूको पूर्व सभापतिसमेत रहेका खड्का कुनैबेला डन नेताका रुपमा चिनिन्थे । शेरबहादुर देउवालाई सभापतिमा जिताउंन महत्वपूर्ण भुमिका निर्वाह गरेका खड्काको भागमा एकजना मन्त्री परेपछि भण्डारीको भाग्य चम्किएको हो । स्ववियूकै पूर्वसभापति रहेका गगन थापा छोटो अवधिमा राजनीतिमा चम्किएका नेता हुन् । गुटगत राजनीतिमा अभ्यस्त नभएको भए उनी जति नै चर्चित भएपनि मन्त्री बन्न पाउंने सम्भावना कम थियो ।

पहिले नरहरी आचार्य गुट, त्यसपछि कोइराला क्याम्प र अहिले सिटौला क्याम्पमा रहेका थापाले गुटको शक्तिलाई आफ्ना लागि उपयोग गर्दै अघि बढ्ने गर्दछन् । आचार्यको बौद्धिकता र अलगधारको सोचबाट दिक्षित थापाले कोइराला क्याम्पको शक्तिमार्फत सर्वाधिक मतसहितको केन्द्रीय सदस्य बनाए । जबकी आचार्यले महामन्त्रीमा नगन्य मत ल्याए । आचार्यकै क्याम्पबाट निर्वाचन लडेको भए थापाको हालपनि धेरथोर त्यस्तै हुने सम्भावना थियो । उनले क्याम्प परिवर्तन गरे । त्यसपछि १३ औं महाधिवेशनमा आइपुग्दा सिटौला क्याम्पका सदस्य भए । महामन्त्रीमा हारेपनि उनका लागि मन्त्री बन्ने बाटो क्याम्प परिवर्तनले नै खुलाइदियो । भिन्दै क्याम्प खडा गरेका सिटौलाले एक मन्त्री पाएपछि सो क्याम्पको दोस्रो बरियतामा रहेका थापाले सहजै मन्त्री बनेका हुन् ।

गुटगत राजनीतिले चम्किएका अर्का पात्र हुन् रमेश लेखक । केन्द्रीय सदस्य नहुंदासमेत उनी मन्त्री बन्न सफल भएका थिए । यसपटक उनी मालदार मन्त्रालयको मन्त्री भएका छन् । सुदुरपश्चिममका लेखकका लागि आफ्नै क्षेत्रका देउवाको मन जितेपछि राजनीति सपाट बनेको हो । त्यस्तै, सितादेबी यादवपनि भाग्यले उदाएकी पात्र हुन् । संर्घषको विरासत भएपनि उनलाई रातारात केन्द्रीय भुमिकामा ल्याइएको थियो ।

नुवाकोटे दुई दाजुभाइ रामशरण महत र प्रकाशशरण महत बांडिएर राजनीति गरेका पात्र हुन् । दुई क्याम्पमा भएपनि यिनीहरुको मिल्ती रहेको बताइन्छ । नुवाकोट जिल्लामा भाइ प्रकाशशरणले दाइ रामशरणलाई संघाउने गरेका छन् । केन्द्रमा भने दुई भाइ दुइ तिरका खम्बा बनेका छन् । सबैभन्दा धेरै मन्त्री बन्ने मध्येका एक रामशरण यसपटक मन्त्री हुंन पाएनन् । तर, महत परिवारबाट मन्त्री छुटेनन् । देउवा क्याम्पबाट प्रकाशशरणले आर्कषक मन्त्रालय परराष्ट्रको जिम्मेवारी पाएका छन् । दुबै भाइ एउटै गुटमा भएको भए एउटै परिवारलाई सधैं भन्ने प्रश्न आउंथ्यो । अहिले त्यो प्रश्नको पिरलोपनि छैन ।

शेरबहादुर देउवाको पक्षमा मधेशबाट प्रतिनिधित्व गर्ने महिला नेतृ चित्रलेखा यादवको जबरजस्त उपश्थितिलाई टक्कर दिन सहिदपत्नी यादव कोषाध्यक्षको उम्मेदवार बनाइएकी थिइन् । अप्रत्याशितरुपमा पौडेल क्याम्पबाट उनी उम्मेदवार बनाइएपछि उनको चर्चा व्यापक बन्यो । भारतीय छोरी र नेपालकी बुहारीका रुपमा उनका लागि राजनीति झनै सहज बनेको छ । अङ्गिकृत नागरिकलाई पनि राज्यका प्रमुख पदमा जान दिनुपर्ने धारणा राख्ने यादव शालिन तर दृढ स्वभावकी नेतृ मानिन्छिन् ।

Nepali Congress New Mantri

विशेष