News

पर्खाल काण्डको कुरा उठेपछि बलबहादुर केसी चूर

पर्खाल काण्डको कुरा उठेपछि बलबहादुर केसी चूर
bal-bahadur-kc-nepalaaja अन्तिम समयमा मन्त्रीको सूचीबाट हटाइएपछि बलबहादुर केसी नेताहरुसँग आक्रोशित छन् । उनले आफूले मन्त्री नहुंने भन्दाभन्दै सूचीमा राखिएको र सूचीबाट हटाएर हलुका बनाउन खोजिएको आरोप लगाएका छन् । शेरबहादुर देउवा र रामचन्द्र पौडेल आफ्नो समकक्षी भएको तथा आफ्नो क्षमता बुझेकाले दुबै नेता आफुप्रति पूर्वाग्रही रहेको उनको निष्कर्ष छ । २०३६ सालको विद्यार्थी आन्दोलनका संयोजक केसीले विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको निधनपछि कांग्रेसमा नेतृत्वको खडेरी लागेको उनको भनाइ छ । गिरिजाप्रसादले कांग्रेस भनेकै कोइराल भनेझैं व्यवहार गरेपछि कृष्णप्रसाद भट्टराईको आदेशमा देउवा पक्षमा लागेको र देउवाले शेरबहादुर भनेकै कांग्रेसजस्तो रवैया देखाएकाले पौडेल पक्षमा लागेको उनको तर्क छ । निष्ठापूर्ण राजनीति गरेको भएपनि परिस्थितिले आफुलाई घर न घाटकोे बनाएको केसीको आत्म समीक्षा छ । उनले आफुजस्ता क्षमतावान व्यक्तिलाई कांग्रेसमा निषेध गरिएको टिप्पणी गरे । ‘म नमुनामात्र हुं । देशैभरि क्षमतावानलाई सीमान्तकृत बनाइएको छ । यसरी कांग्रेस चल्दैन । म चुप लागेर बस्दिन ।’ हिजो कांग्रेसमा प्रवेश गरेकाहरु नेतृत्वमा पुगेको भन्दै उनले कृष्ण सिटौलाप्रति कटाक्ष गरे । उनले सिटौलाको समुह नक्कली क्याम्प रहेको ठोकुवा गरे । आफु पंचायतका बिरुद्ध लाग्दा कोही बेलायतमा, कोही अमेरिकामा, कोही पंचायतमा, कोही कम्युनिष्टमा रहेको भन्दै उनले नेतृत्वप्रति व्यंग्य कसे । संर्घषका बेला अन्तै रहेकाहरुको कोर्टमा पार्टी पुगेको र यसका पछाडि भागबण्डाको राजनीति कारक रहेको जनाए । पंचायतको उत्तरार्धमा शेरबहादुर देउवा बेलायत र रामशरण महत अमेरिकामा थिए । अर्जुननरसिंह केसी पंचायतमा र सिटौला कम्युनिष्टमा रहेको उनको संकेत थियो । उनले मन्त्री पद कसैले दिने र कसैले माग्ने विषय नभएको भन्दै कांग्रेसमा विकृति भित्रिएको प्रष्ट गरे । ‘पौडेलसँग मागेर मन्त्री खाने हुं म’ भन्दै उनले आक्रोश व्यक्त गरेका थिए । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलले समकालिन र कनिष्ठ नेतृत्वमा पुगेपनि तपाई ओझेलमा पर्नुको कारण पर्खाल काण्डपनि हो कि भनेर सोधेपछि उनी प्रश्नकर्तासँग आक्रोशित भएका थिए । १५ बर्ष अघिको विषय उचालेर आफुमाथि षडयन्त्र गरिएको र त्यसको एउटा पक्षका रुपमा अन्तरवार्ताकारपनि रहेको भन्दै उनी रिसाएका थिए । मन्त्री हुंदा केसी एक महिलाको घरमा प्रवेश गर्न खोजेको आरोप लागेको थियो । पर्खाल काण्डका रुपमा केसीको त्यतिबेला बदनाम भएको थियो । सो घटना असत्य रहेको र सम्बन्धित महिलाले समेत अस्विकार गरेको केसीको प्रष्टिकरण छ । https://youtu.be/SG23f0NQGH0

bal bahadur kc chuur parkhal kandako kura uthepachi

विशेष