News

थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग

थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग
pm dahal nishesh khanal भदौ ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रोल्पा थवाङका बामपन्थी अग्रज बर्मन बुढाले भेट गरी थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग गरेका छन् । शनिबार साँझ प्रधानमन्त्री निवासमा भएको भेटमा बामपन्थी अग्रज बर्मन बुढाले स्थानीय तह पूनर्संरचना आयोगले मगर बाहूल्य बस्तीलाई अलग–अलग गाउँपालिका प्रस्ताव गरेको भन्दै रोल्पाका थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम गाविस मिलाएर एउटै गाउँपालिका बनाउन र त्यसको केन्द्र थवाङलाई बनाउन माग गरेका हुन् । भेटमा बुढाले भने, ‘जनयुद्धको बेला अजम्बरी गाउँ थवाङ जनसत्ताको केन्द्र थियो, अहिले हामीले गाउँपालिकाको केन्द्र मात्रै मागेका छौं । प्रधानमन्त्रीले थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम मिलाएर एउटै गाउँपालिका बनाएर त्यसको केन्द्र थवाङलाई बनाउनु हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’ बर्मन बुढासहित आएको १५ जनाको प्रतिनिधि मण्डलले एउटै भाषा, संस्कृति, मनोभावना, साझा आर्थिक निर्भरता, आर्थिक स्रोत उपलब्धता, प्रशासनिक सुगमता जस्ता अनुकूलताका कारण ६ गाबिसलाई एउटै गाउँपालिका बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरेको थियो । प्रतिनिधि मण्डलले जनयुद्धको अजम्बरी गाउँ थवाङलाई थप परिचित बनाउन, पहिचानको रक्षा गर्न र प्रशासनिक सुगमताका लागि पनि थवाङ नयाँ गाउँपालिकाको केन्द्र बन्नुपर्नेमा जोड दिएको थियो । भेटमा प्रधानमन्त्रीले बर्मन बुढासँगको भेट आफ्ना लागि उर्जा भएको भन्दै चुनौतिलाई अवसरमा बदल्ने संकल्पसहित दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताए । थवाङबासीको मागबारे प्रधानमन्त्रीले भने, ‘स्थानीय तह पूनर्संरचना समितिले आफ्नो काम गरिरहेको छ । यसको कार्यादेश कस्तो हुने भन्ने अन्तिम टुंगो लागेको छैन । दलहरुसँग छलफल गरेर हामी निष्कर्षमा पुग्छौं । थवाङलाई नयाँ गाउँपालिकाको केन्द्र बनाउन मेरो पुरै सहमति छ । त्यसका लागि आवश्यक पहल गर्नेछु ।’

pm dahal rolpa thawang

विशेष