विदेश

कश्मीरका ‘पृथकतावादी’ नेता मिरवाइज उमार फारुक पक्राउ

कश्मीरका ‘पृथकतावादी’ नेता मिरवाइज उमार फारुक पक्राउ
kasmir neta भदौ १२ । भारत प्रशासित कश्मीरमा लामो समयदेखि आन्दोलन तथा हड्ताल गर्न उक्साउने ‘पृथकतावादी’ नेता मिरवाइज उमार फारुकलाई शनिबार भारतीय प्रहरीले पक्राउ गरेको छ । फारुकलाई यसअघि नजरबन्दमा राखिँदै आएको थियो । कश्मीरमा लामो समयसम्म तनाव कायम रहेपछि फारुकलाई पक्राउ गर्ने निर्देशनअनुसार शुक्रबार राति सुरक्षा नियन्त्रणमा लिई सरकारी सुविधामा श्रीनगरमा राखिएको एक प्रहरी अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा जानकारी दिए । उनले आफू पक्राउ परेका नेताको अवस्थाका बारेमा बोल्ने अधिकार प्राप्त व्यक्ति नभएकाले थप जानकारी दिन नसक्ने बताए । फारुक कश्मीरमा बन्द, हडताललगायतका आन्दोलन घोषणा गर्ने नेताहरूमध्ये एक हुन् । यसैबीच कश्मीरका मुख्यमन्त्री मेहबुबा मुफ्तीले कश्मीरको आन्दोलनबाट उक्त क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको भन्दै कश्मीरी ‘पृथकतावादी’ नेताहरू तथा छिमेकी पाकिस्तानसँग समस्या समाधानका लागि पहल गर्नुपर्ने धारणासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरेकी छन् । कश्मीरमा सुरक्षाकर्मीले हदैसम्मको सुरक्षा कडाइ गर्दासमेत आन्दोलन साम्य हुन नसकेपछि सल्लाहका लागि मुख्यमन्त्री मुफ्तीले प्रधानमन्त्री मोदीलाई भेटेकी हुन् । शुक्रबार मात्र भारतको कश्मीर क्षेत्रमा विगत केही सातादेखि जारी आन्दोलन र बन्दका कारण कम्तीमा ६ खर्ब ४० अर्ब भारतीय रुपैयाँ बराबरको क्षति राज्यले व्यहोर्नुपरेको कश्मीर ट्रेडर्स एन्ड म्यानुफ्याक्चर्स फेडेरेसनले बताएको थियो । कश्मीरमा पर्यटक र अन्य व्यापारिक गतिविधि विगत ४९ दिनदेखि यहाँ जारी हडतालका कारण पूर्णतया बन्द छन् । हिज बुल्लाह मुजाहिद्दीन नेता बुरहान बानीको सरकारी सुरक्षाकर्मीसँगको झडपमा मृत्यु भएपछि भड्किएको हिंसाका कारण यहाँ ६६ जनाले ज्यान गुमाएको सरकारले बताएको छ । कश्मीरको अनन्तनाग जिल्लाबाट फैलिएको हिंसाले कश्मीरको जनजीवन नराम्ररी प्रभावित पारेको छ भने बन्द तथा हडतालका कारण व्यापारिक, पर्यटकीय लगायतका नियमित गतिविधिमा नराम्रो असर पर्दा खर्बौंको घाटा यस क्षेत्रले व्यहोर्नु परेको फेडेरेसनका अध्यक्ष मोहमद यसिन खाँले बताएका छन् । यो तथ्यांक ५ महिना पहिले हुने गरेको दैनिक कारोबारका आधारमा निकालिएको अध्यक्ष खाँको दाबी छ । कश्मीरमा हडताल तथा बन्दका कारण दैनिक १३ अर्ब ५० करोड बराबरको घाटा हुने गरेको खाँले बताए । —एपी

India Kasmir mirwaij umar faruk

विशेष