News

विदेशी खादाको प्रयोग नरोक्न मन्त्रीको निर्देशन

विदेशी खादाको प्रयोग नरोक्न मन्त्रीको निर्देशन
jeevan-bahadur-shahi भदौ - १४ । विदेशी खादा प्रयोगमा लगाएको प्रतिवन्ध मन्त्रीको निर्देशनमा हटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले विदेशी खादा प्रतिवन्ध लगाउने सचिवस्तरीय निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । वातावरण प्रदुषित हुने र राज्यकोषबाट वार्षिक करोडौं रकम बाहिरिने भन्दै मन्त्रालयका सचिव प्रेमकुमार राईले गत असार २१ गते मन्त्रालय मातहतका कार्यालय र विभागहरुलाई विदेशी खादा प्रयोग नगर्न निर्देशन दिएका थिए । मंगलबार नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध संघ(संस्थाहरुले पर्यटन मन्त्री शाहीलाई भेटेका छन् । र, मन्त्रालयले प्रयोगमा रोक लगाएको खादा नै लगाइदिए । साथै उनीहरुले निर्णय खारेजको माग गरेका छन् । उनीहरुले सरकारको निर्णय बौद्ध धर्मावलम्बीप्रति पूर्वाग्रही भएको आरोप लगाए । ‘उहाँहरुले प्रश्न गर्नु भो कि सिन्दुर, अविर कहाँबाट आउँछ ? हिन्दु धर्मावलम्बीले प्रयोग गर्ने राम(राम लेखिएको कपडा कहाँबाट आउँछ ? भनेर प्रश्न गर्नुभो,’ मन्त्री शाहीले अनलाइनखबरसँग भने । विवाद बढ्दै जाँदा धार्मिक द्वन्द्व हुन सक्ने भएपछि आफूले निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको उनले बताए । विदेशी भनेर रोक्न नहुने तर्क आफूलाई चित्त बुझेको भन्दै उनले अघि भने, ‘यसो हेर्दा मैले लगाएको कपडा पनि भारतको रहेछ । जुत्ता पनि उतैको रहेछ । म त नाङ्गै हिड्नु पर्ने भो ।’ मन्त्रीले कुनै पनि धर्म तथा संस्कृतिमाथि आँच आउन नदिने प्रतिबद्धता जनाएको भेटमा सहभागी आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले जानकारी दिए ।

jeevan bahadur shahi paryatan mantri

विशेष