News

जापानद्वारा २ अर्बकाे अनुदान सहयाेग

जापानद्वारा २ अर्बकाे अनुदान सहयाेग
japal nepal भदाै - १५ । जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई रु एक अर्ब ८३ करोड २० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र द्विपक्षीय दौंत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइको उपस्थितिमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालयमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रलायका सचिव लोकदर्शन रेग्मीले नेपालका प्रमुख विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले रु एक अर्ब ५१ करोड ८० लाख उपलब्ध गराउने छ । त्यसैगरी विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानले रु ३१ करोड ३० लाख अनुदानस्वरुप प्रदान गर्नेछ । उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रमुख जुन साकुमा र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले हस्ताक्षर गरेे। त्यस अवसरमा राजदूत ओगावाले नेपालको विकास प्रयासमा जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सचिव रेग्मीले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति जापानले गरेको योगदानप्रति आभार प्रकट गरे ।

anudan sahayog Japan nepal

विशेष