News स्वास्थ्य

ट्रमा सेन्टरमा जोर्नी प्रत्यारोपण सेवा

ट्रमा सेन्टरमा जोर्नी प्रत्यारोपण सेवा
Trama center भदौ १६ । जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुट्कारा पाउन गरिने कृत्रिम जोर्नी प्रत्यारोपण उपचार राष्ट्रिय ट्रमा सेन्टरमा सुरु भएको छ । ट्रमा सेन्टरका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग प्रमुख प्रा डा श्रीकृष्ण गिरीले दुई महिनाअघि प्रत्यारोपण सेवा सुरु गरिएको बताए । ‘‘विभिन्न कारणले जोर्नीले कामगर्न नसक्ने अवस्था आएपछि प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ट्रमा सेन्टरमा विभिन्न दुर्घटनामा परी आएका बिरामीको पनि कहिलेकाहीँ प्रत्यारोपण गर्नुपर्ने हुनाले हामीले यो सेवा सुरु गरेका हौँ ।’’ सेवा सुरु भएपछि तीनजनाको घुँडा र नितम्ब प्रत्यारोपण गरेको  जानकारी दिए । तीमध्ये एकजना गत वर्षको भूकम्पमा लडेर जोर्नी भाँचिएका बिरामीको जोर्नी प्रत्यारोपण गरिएको थियो ।  खिएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्छ । जोर्नी प्रत्यारोपण गर्न रु ६० हजारदेखि करिब रु तीन लाखसम्म पर्ने डा गिरीले जानकारी दिए । शल्यक्रिया शुल्क सस्तो भएपनि कृत्रिम जोर्नी किन्न बढी मूल्य पर्ने भएकाले यो सेवा महँगो भएको हो । प्रत्यारोपण गरेपछि पहिलेजस्तो कडा परिश्रम गर्नु हुँदैन । पलेटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उफ्रने, धेरै उकालो–ओरालो हिँड्ने, रूख चढ्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हुँदैन । खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकको भनाइ छ । नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौँलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकेको छ । पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेका छन् । प्रत्यारोपण गरिएको जोर्नीले काम गर्न छोडेपछि त्यसलाई पुनः संशोधन शल्यक्रिया (रिभिजन अर्थोप्लास्टी) बाट कामलाग्ने बनाउन सकिन्छ । यसका लागि विशेष औजार तथा सुविधालगायत प्रक्रिया आवश्यक हुन्छ । विभिन्न कारणले जोर्नी बिग्रने, औषधिले काम नगर्ने तथा फिजियोथेरापीले पनि काम गर्न नसकेमा जोर्नी प्रत्यारोपण गरिन्छ

Trama Center

विशेष