News

घरबास गुमाएका परिवारले मागे सरकारसँग पुनर्वास

घरबास गुमाएका परिवारले मागे सरकारसँग  पुनर्वास
baaglung भदाै - १६ । गत साउन १० र ११ गते आएको बाढीका कारण घरबास गुमाएका बाग्लुङका परिवारले सरकारसँग पुनर्वासको माग गरेका छन् । प्रभावितले तत्कालीन राहतभन्दा दीर्घकालीन पुनर्वासको चिन्ताले पिरोलेको बताएका छन् । जीवनभरको मेहनतले आर्जेको घर, गोठ बाढीले लगेपछि प्रभावितहरु अहिले आफन्तको घर र अस्थायी टहरामा दैनिकी गुजार्न बाध्य छन् । गोठमा बसेका अधिकारीचौर–५ का ६२ वर्षीय खड्कबहादुर पुनले भन्नुभयो– “दिनरात कटाउन धौ धौ भएको छ, स्थायी बसोबासको चिन्ताले पिरोलेको छ” सठसठ्ठीवटा घर पूर्णरुपमा क्षति भएपछि अधिकारीचौरका ३९७ जना विस्थापितमध्येका अधिकारीले सरकारले पुनर्वासको योजना ल्याएर सहयोग गरोस् भन्ने आफूहरुको माग रहेको बताएका छन् । सरकारी र गैरसरकारीस्तरबाट राहत सामग्रीको व्यवस्था भएपनि प्रभावितहरुमा स्थायी आवासको चिन्ता छ । अधिकारीचौरकै दुर्गा भण्डारीले बाढी प्रभावितको पुनःस्थापना चुनौतीपूर्ण रहेको बताए ।  आफन्तको शरण, गोठ र टहरामा दयनीय अवस्थामा बसेका बाढी प्रभावितको दीर्घकालीन व्यवस्थापनप्रति राज्य जिम्मेवार हुनुपर्ने गनासो आइरहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बाढी प्रभावितको पुनःस्थापनका लागि पहल भइरहेको बताएका छन् ।  प्रभावितको यथार्थ विवरण सङ्कलन गर्ने र सहयोगको ठोस योजना बनाउनेबारे तयारी भइरहेको जानकारी दिदै उनले भने– “यहाँ मात्र नभएर देशभरको समस्या उस्तै छ तैपनि स्थायी बसोबासको प्रबन्ध मिलाउन सक्दो पहल गर्दै र्छौं ।” बाढीका कारण अधिकारी चौरका ७१२, बुङ्गादोभानका १३०, बुर्तिवाङमा ४७, भीमगिठेका २२, दर्लिङका १७, निशीका १६, बागलुङ नगरपालिकाका २२, मालिकाका चार, रायडाँडाका पाँच, कुश्मीसेराका दस, बोहरागाउँका आठजना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Baglung punarbash sarkar saga

विशेष