News स्वास्थ्य

गर्भपतन गर्ने किशोरी बढे

गर्भपतन गर्ने किशोरी बढे

garva-patan-700 भदौ १७ । शारीरिक परिपक्वता नहुँदै गर्भधारण गर्न उपयुक्त नहुने भएकैले चेतनामूलक नारा ‘बिहेबारी २० वर्ष पारि’ सुनाउने गरिएको छ । तर, यहाँ भने गर्भपतन गराउनेको तथ्यांकले २० वर्षमुनिकै धेरै रहेको देखाएको छ ।

गर्भपतन गराउनेमा २० प्रतिशत कम उमेरका किशोरी अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले थपिए उमेर पुगेका महिलाभन्दा युवतीमा दोब्बर खतरा । कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि गत आव २०७२–०७३ मा २० वर्ष उमेरका १ सय ६१ युवतीले स्वास्थ्य संस्थाहरूबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् । ८ सय ५ जना महिलाले सुरक्षित गर्भपतन गराएकोमा २० प्रतिशत कम उमेरका किशोरी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा कलिलो उमेरमा गर्भपतन गराउनेको संख्या बढेको हो ।

अघिल्लो वर्ष १० प्रतिशत किशोरीले मात्रै उक्त सेवा लिएका थिए । ‘कम उमेरमा विवाह गरेर मात्रै तथ्यांक बढेको होइन, उमेर नपुगेका किशोरीहरू यौन क्रियाकलापमा सहभागी हुने गरेको पनि भेटिएको छ,’ कार्यालयका परिवार नियोजन सुपरभाइजर वीरबहादुर श्रेष्ठले भने ।स्वास्थ्य संस्थाबाट सेवा लिनु सकारात्मक भए पनि कम उमेरमै किशोरीहरू गर्भवती हुनु सोचनीय विषय भएको उनले बताए । स्रोतका अनुसार असुरक्षित गर्भपतन गराउने किशोरीहरूको संख्या पनि कम छैन । जिल्लामा चार वटा मात्रै स्वास्थ्य संस्था सुरक्षित गर्भपतन गराउन मान्यताप्राप्त छन् । ती बाहेक अन्य स्वास्थ्य संस्थामा पनि गर्भपतन गराउने गरिन्छ ।

अवैध तरिकाबाट गर्भवती भएका अधिकांश महिलाहरूले मान्यता नपाएका संस्थामा सेवा लिने गरेको एक स्वास्थ्यकर्मीले दाबी गरे । ‘उमेर नपुगेका युवती गर्भवती हुनु उमेर पुगेका महिला हुनुभन्दा दोब्बर खतरा हुन्छ,’ सुपरभाइजर श्रेष्ठले भने, ‘आमाको मृत्यु हुने र गर्भमा जटिलता देखिने सम्भावना अत्यधिक हुन्छ ।’

२० वर्षभन्दा कम उमेरमा आमाको स्वास्थ्य पूर्ण रूपमा विकसित नभएको हुनाले गर्भ रहन गएमा त्यस्तो महिला जोखिममा पर्ने सम्भावना हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ । गोरखा अस्पताल, आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र, आँपपीपल अस्पताल र मेरी स्टोप्समा मात्रै सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । यस बाहेक जिल्लाका विभिन्न निजी स्वास्थ्य संस्थाले अवैध रूपमा गर्भपतन गराउने गरेका हुन् । ‘औषधि खाएर गर्भपतन गराउन २० वर्षमुनिका युवतीहरू धेरै आउँछन,’ एक मेडिकल सञ्चालकले भने ।

कम उमेरमा गर्भ रहने र पतन गराउने क्रम बढेको भन्दै कार्यालयले परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने जनाएको छ । परिवार नियोजनका साधनमध्ये छोटो अवधिका साधन प्रयोग गर्नेको संख्या उल्लेख्य छ । कार्यालयबाट सेवा लिनेमध्ये ७९ प्रतिशत अर्थात् ६ सय ३६ जनाले कन्डम, पिल्स लगायत छोटो समयका लागि काम गर्ने साधन प्रयोग गर्ने गरेका छन् । २१ प्रतिशत अर्थात् १ सय ६९ जनाले इम्प्लाट र कपर–टी लगायत ५ वर्षभन्दा लामो समय काम गर्ने साधन प्रयोग गर्ने गरेका छन् ।

Garvapatan

विशेष