ग्रामीण क्षेत्रका यातायात सञ्चालन हुँदै
भदाै - १७ । काभ्रेपलाञ्चोकको विर्तादेउरालीमा बस दुर्घटना भएको १६ दिनपछि शुक्रबार जिल्लाको ग्रामीण क्षेत्रमा यातायात सञ्चालन हुने भएको छ ।
राजनीतिक दल, यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बिहीबार भएको सर्वपक्षीय बैठकले भाडा दर निर्धारण गर्दै यातायात सञ्चालन गर्न अनुमति दिएको छ । बैठकले कोसीपारि, तिमाल क्षेत्र, मण्डन क्षेत्र र रोशी क्षेत्रमा प्रतिकिलोमिटर रु पाँच र अन्य कच्ची सडकमा चार रुपैयाँ ५० पैसा भाडा दर निर्धारण भएको काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
उनले २००५ मोडेलका सवारीसाधनबाहेक अन्य पुराना सवारीसाधन सञ्चालन नगर्ने र अस्थायी परमिट लिन नसकेको अवस्थामा सिट सङ्ख्याभन्दा बढी यात्रु सवारीसाधनमा राख्न नपाइने, यात्रुलाई टिकटको व्यवस्था गर्ने विषयमा समेत सहमति भएको बताएका छन् ।
यातायात व्यवस्थापन आचारसंहिता २०६७ लाई मध्यनजर गर्दै यातायात व्यवसायीले पनि आचारसंहितालाई लागू गर्ने प्रतिबद्धता जनाएको सहायक प्रजिअ शर्माको भनाइ छ । यसअघि नै जिल्लामा ५१ वटा अस्थायी बाटोमा यातायात सञ्चालन गर्नसमेत सर्वपक्षीय बैठकले अनुमति दिएको थियो । बस दुर्घटनापछि ग्रामीण क्षेत्रमा यातायात सञ्चालन नहुँदा स्थानीयवासीले ठूलो सास्ती खेप्दै आएका थिए । सरकारले रुट परमिट जारी नगर्दा सिन्धुली, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरलगायत तराईका १४ जिल्ला जोड्ने बिपी राजमार्गबाट आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र थिए ।
graamin yatayat sanchalan ma
kavrepalanchowk