News

भाषा बचाउन केन्द्रीय विभागका प्राध्यापकहरू कस्सिए

भाषा बचाउन केन्द्रीय विभागका प्राध्यापकहरू कस्सिए
kirtipr भदाै - १७ । त्रिवि, नेपाली केन्द्रीय विभाग कीर्तिपुरका प्राध्यापकहरूले भाषाप्रयोक्ताका विषयलाई परिपत्रका नाममा लाद्ने प्रक्रियाप्रति असहमति जनाउँदै सम्बद्ध निकायलाई यसतर्फ तुरुन्त कदम चाल्न आग्रह गरेका छन् । नेपाली भाषाको लेख्य मानक प्रयोगलाई केही समयदेखि केही व्यक्ति र निकायबाट जबर्जस्ती भत्काई नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने दुष्प्रयास भइरहेको जनाउँदै प्राध्यापकहरुले नेपाली भाषाको वर्णविन्यासका क्षेत्रमा विशेषतः संयुक्त वर्णको लेखन, पदयोग र पदवियोग तथा ह्रस्वदीर्घका सम्बन्धमा नयाँ मान्यताका नाममा प्रचलित परम्परा र मानक लेखनलाई भत्काएर नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने दुष्कार्य भएको बिहीबार जारी प्रेस विज्ञप्तिमा बताइएको छ । “राष्ट्रभाषा, साझा भाषा, सम्पर्क भाषा र माध्यम भाषाका रूपमा विकसित नेपाली भाषाको अन्तर्राष्ट्रिय विस्तार र विश्वव्यापीकरण भइसकेका अवस्थामा नेपालकै केही व्यक्ति र निकायबाट सो भाषाको मानक लेख्य स्वरूपलाई भत्काएर विकृत तुल्याई नेपाली भाषाप्रति नकारात्मक धारणा फैलाउने प्रयास गरिनु आपत्तिजनक कार्य हो” –विज्ञप्तिमा भनिएको छ । भाषाको परिवर्तन जनस्तरबाट स्वीकार भएपछि मात्र प्रयोगमा आउनुपर्नेमा कसैको लहड र परिपत्रका नाममा जबर्जस्ती लादिने प्रक्रियाले भाषिक परिवर्तनलाई प्रतिनिधित्व गर्न नसक्ने जनाउँदै यस्तो अवस्थामा आमसञ्चार, लेखक, प्रकाशक, भाषाविद् तथा नेपाली भाषालाई दोस्रो भाषाका रूपमा प्रयोग गर्ने भाषाभाषी समुदाय र नेपाली भाषाका प्रयोक्तासमेतको सहभागितामा छलफल र बहस चलाएर मात्र लेखन प्रणालीलाई कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिइएको छ । राष्ट्र र राष्ट्रियताको सञ्चेतनाको प्रमुख आधारका रूपमा रहेको नेपाली भाषाको लेखनपद्धतिलाई बिगारी नेपाली भाषाको अस्तित्वलाई सङ्कटमा पार्ने काम कहीँकतैबाट हुन नहुने जनाउँदै भाषासम्बन्धी त्यस्ता विवाद र बहसलाई सम्बद्ध निकायले तुरुन्त समाधान गर्ने प्रक्रिया सुरु गरी चित्तबुझ्दो समाधानका लागि कार्य गरोस् भन्ने अपेक्षा गरिएको छ । विज्ञप्ति जारी गर्नेमा प्रा डा देवीप्रसाद गौतम, प्रा डा व्रतराज आचार्य, प्रा डा महादेव अवस्थी, प्रा डा मोतीलाल पराजुली, प्रा डा खगेन्द्रप्रसाद लुइँटेल, प्रा डा कृष्णप्रसाद घिमिरे, प्रा डा कृष्णहरि बराल, प्रा रमेशप्रसाद भट्टराई, सहप्राध्यापक लक्ष्मणप्रसाद गौतम, उपप्राध्यापक रजनी ढकाल, उपप्राध्यापक साधना पन्त लगायत २७ जना रहेका छन् ।

bhasa nabigarna pradhyapak ko mag central department of nepali kirtipur

विशेष