News

चर्चामा सीमित काेरला नाका, निरन्तरता दिन सरकारकाे अानकानी

चर्चामा सीमित काेरला नाका, निरन्तरता दिन सरकारकाे अानकानी
korala naka भदाै - १९ । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ । नाका सञ्चालनसँगै नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थितिलगायतका धेरै कारणबाट नाका सञ्चालनमा ल्याउने काम तीव्रताका साथ अघि बढ्न नसकेको हो । पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रबाट अत्यन्त नजिक पर्ने यो नाका सञ्चालनसँगै अरु सम्भावनाका अतिरिक्त यस क्षेत्रको पर्यटकीय विकासका लागि मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ । सम्भाव्यता अध्ययनका लागि पछिल्लो समयमा व्यवस्थापिका–संसदको विकास समितिका सदस्यहरुबाट भएको स्थलगत अवलोकन भ्रमणपछि कोरला नाका सञ्चालनमा ल्याइनुपर्ने सुझावसहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो । ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री एवम् पूर्व प्रधानमन्त्री सहितको टोलीको अवलोकन भ्रमणले नाका सञ्चालनमा ल्याउने विषय राज्यको प्राथमिकतामा परेको प्रस्ट हुन्छ । पछिल्लो समयमा नाका सञ्चालनमा ल्याउने तयारी स्वरुप अत्यावश्यकीय कार्यालय स्थापना गर्ने कामलाई पनि अघि बढाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार नाका सञ्चालनमा ल्याउन अत्यावश्यकीय भन्सार कार्यालय एवम् सुरक्षा निकायका लागि जग्गा सीमाङ्कन गरी स्वीकृतिका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको छ । भन्सारसहित क्वारेन्टाइन, अध्यागमन, सीमा सुरक्षालगायतका कार्यालयका लागि छोनुप गाविसस्थित नेचुङमा १०० रोपनी जग्गा सिमाङ्कन गरी स्वीकृतिका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको उहाँले जानकारी दिए । त्यस्तै, नेपाली सेनाका लागि लोमान्थाङमा एक हजार रोपनी जग्गा सीमाङकन गरिएको छ । “अत्यावश्यकीय कार्यालयका लागि जग्गाको सीमाङ्कन गरी स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइसकिएको छ,” उनले भने – “ कोरला नाका जाने मुख्य मार्ग जोमसोमदेखि कोरलासम्मको १०९ किलोमिटर बाटो स्तरोन्नति एवम् निर्माणका लागि बोलपत्र भैसकेको छ । मौसमको अनुकूलताका आधारमा आगामी फागुनदेखि काम सुरु हुने सम्भावना छ ।” पोखराबाट म्याग्दीको बेनीसम्म कालोपत्रे सडक र जोमसोम–लोमान्थाङ कच्ची मार्ग हुँदै चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाका पुग्न सकिन्छ । नाकाबाट ३० किलोमिटरको दूरी पार गरेपछि ढोङ्वासेन पुगिने र त्यहाँबाट केही पर शिगात्सेबाट आएको चाइना नेसनल हाइवे भेटिने भएकाले प्रदेश नं ४ का लागि उत्तरी सम्पर्कको यो एक उपयुक्त मार्ग हुने देखिन्छ । लोमान्थाङबाट विभिन्न हिमाली दृश्य अवलोकन गर्दै पुग्न सकिने कोरला नाकाको २४ नं सीमास्तम्भले नेपाल र चीनको भूगोललाई छुट्याएको छ । नेपालतर्फ केही पनि पूर्वाधार निर्माण भएको देख्न नसकिए पनि त्यहाँ पुगेपछि चीनले आफ्नातर्फ घेरोको तारबार र ताला लगाएको द्वार हेरेर नेपाली पर्यटक फर्कने गरेका छन् । चीन सरकारले ठाउँ–ठाउँमा सोलार प्यानल जडान गरी त्यसैबाट सञ्चालन हुने सिसिटिभी र अन्य उपकरणहरु जडान गरी राखेको छ । पोखरासहित यस आसपासका क्षेत्रको पर्यटकीय विकासका लागि नाका खुलाउनु पर्ने आवश्यकता पछिल्लो समयमा पर्यटन क्षेत्र सम्बद्ध निकायहरुबीच छलफलको विषय बनेको छ । नाका सञ्चालनका सम्भावना र भौगोलिक अवस्थाको स्थलगत अवलोकनका लागि गत जेठमा पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराका पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको टोली कोरला नाका पुगेको थियो । सुनौलीदेखि पोखरा हुँदै जोमसोम र लोमान्थाङबाट कोरला नाका पुग्न सकिने भएका कारण चीन र भारत जोड्ने यो नाका सबैभन्दा छोटो र कम खर्चिलो हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा बताउँछन् । मुस्ताङमा अवस्थित मुक्तिनाथ, दामोदर कुण्ड, झोङ् गुफा, चुङ्सी गुफा, ल्हो घ्याकार गुम्बा, लामो पर्खालले घेरिएको लोमान्थाङ दरबार र गुम्बा जस्ता स्थलहरू यहाँका मुख्य पर्यटकीय आकर्षण भएको लोमान्थाङका मुखिया झवाङ विष्टले बताए । मुस्ताङ क्षेत्रको अवलोकन भ्रमणका लागि बर्सेनि हजारौंको सङ्ख्यामा विदेशी पर्यटक आउने गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने यस क्षेत्रको अवलोकनका लागि सन् २०१३ मा तीन हजार ३४४, २०१४ मा चार हजार १४६ जना र २०१५ मा भूकम्प र नाकाबन्दीका कारण दुई हजार ६८६ जना विदेशी पर्यटक आएका थिए ।  यस वर्ष पनि उल्लेख्य सङ्ख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरू यस क्षेत्रको अवलोकन भ्रमणमा आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङ इकाईका कर्मचारी विकास अधिकारीले बताए । 

China Korala naka nepal

विशेष