एनजीओ तथा आइएनजीओको भरमा प्लास्टिक उद्योग बन्द नगर्न सरकारलाई दबाब
भदौ १९ । प्लास्टिकको झोला बन्द गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले विरोध जनाएको छ । उद्योगलाई क्षतिपूर्ति र बैकल्पिक व्यवस्था समेत नगरी बन्द गर्नु सरकारको गम्भीर लापरबाही भएको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
निर्वतमान अर्थमन्त्री विष्णु पौडेलले बजेटमा प्लास्टिक तथा पोलि प्रोपिलिन झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने उद्घोष गरेका थिए । सरकारले उद्योगीलाई वैकल्पिक व्यवस्था समेत नदिइ उद्योग बन्द गर्नु अत्यन्तै दखद् भएको नेपाल प्लास्टिक उत्पादक संघका अध्यक्ष शरद शर्माले जानकारी दिए ।
एनजीओ तथा आइएनजीओको दबाबमा सरकारले प्लास्टिक उद्योग बन्द गराएको उद्योगी व्यवसायीको भनाइ छ । महासंघको सचिवालयमा आइतबार जम्मा भएका प्लास्टिक उद्योगका प्रतिनिधिले प्लास्टिक प्रतिबन्धको व्यवस्था फिर्ता लिनका लागि सरकारलाई दबाब दिन महासंघ नेतृत्वसँग आग्रह गरेका छन् । उनीहरूले उद्योग बन्द गर्ने नीतिको विरोध गर्न र आन्दोलित हुन समेत आफूहरू तयार रहेको बताए ।
हाल मुलुकभर २ सयवटा प्लास्टिक उद्योग सञ्चालनमा रहेको संघको तथ्यांक छ । यी उद्योगमा ५ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । त्यस्तै, प्लास्टिक उद्योगमा २० हजार जनाले रोजगारीसमेत पाएको संघका महासचिव सन्तोषकुमार सेढाईले बताए ।
“व्यवस्थापन गर्नुको साटो एनजीओ र आईएनजिओको दबाबमा सरकारले गलत निर्णय लिएको छ,” उनले भने, “यसले अर्बौं लगानी भएका उद्योग बन्द भई लगानीकर्ता डुब्ने मात्रै होइन, हजारौँको रोजगारी खोसिने र लगानीको वातावरणमा प्रतिकूल असर पर्ने पक्का छ ।” उनले विकल्पविना उद्योग बन्द गर्नु घातक भएको जिकिर गरे ।
व्यवसायीले प्लास्टिकसम्बन्धी निर्दे्शिक तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । “निर्दे्शिकामा जे उल्लेख छ त्यो कुरा हामी पालना गर्न तयार छौं,” संघका अध्यक्ष शर्माले भने, “निर्दे्शिका नल्याई उद्योग बन्दा गर्न पाइन्न । मापदण्ड कार्यान्वयनमा आएपछि पनि उद्योगीले त्यो मापदण्डलाई लागू गरेनन भने संघ नै त्यस्ता उद्योगलाई कारबाही गर्न सिफारिस गर्छ ।”
banijya mahasang
palstic udhyog banda nagarna sujhab