तीजमा तडकभडक छाडि ‘तीज बचत’मा भरतपुरका महिला
भदाै - १९ । तडकभडक त्यागेर तीजमा हुने खर्च जोगाउन भरतपुरका महिलाले ‘तीज बचत’ सुरु गरेका छन् ।
गरगहना र लवाइखुवाइले भड्किलो बन्दै आएको तीजमा समानता दर्शाउन प्रभात महिला बचत तथा ऋण सहकारी संस्था मार्फत स्थानीय महिलाले यस्तो नमुना काम थालेका हुन् ।
“पहिले हामीले नै अलि भड्किलो तीज मनायौँ, गरगहना, महँगो साडीमा सजिएर पार्टी प्यालेसमा गरिने कार्यक्रममा झण्डै एक डेढ लाख सकिन्थ्यो”–सरस्वती कतिलाले भनिन्– “अहिले हामीले नहुने र हुने वर्गमा समान हुनेगरी तीज मनाएका छौँँ ।”
हामीहरुका लागि अहिले तीज फेरिएको छ । महिलाले तीजमा हुने सबै खर्च जोगाएर आफ्नो गर्जाे टार्न थालेको उनले बताइन् ।
यसपालीको तीज बचत कार्यक्रममा एकै दिन रु १ लाखसम्म बचत भएको र यो बर्ष अाइतबार तीजको दिनसम्मको बचतमा रु तीन लाख जम्मा भएको सदस्य महेश्वरी थापाले जानकारी दिएकी हुन् ।
भरतपुर ११ भोजाडकी दुर्गा लामिछानेले तीजमा हुने अनावश्यक खर्च रोकेर यो बर्ष रु ९ हजार बचत गरिन् । ‘‘नचाहिने खर्च किन गर्ने, थोरै पैसाले भोलि ठूलो काम गर्न सकिन्छ,। ’’ लामिछानेले खुसी हुँदै भनिन्–‘‘अन्य दिदिबहिनीलाई पनि तीजमा हुने खर्च जोगाउन म भन्छु ।’’
उनिसँगै डा शारदा कुँवर र अम्विका सापकोटाले पनि रु पाँच–पाँच हजार बचत गरेकी छिन् । यसरी सबैको स्तर बराबरी बनाउँदा नहुने बर्गले समेत रमाएर तीज मनाउने गरेको अनुभब प्रभात बचतकी शिक्षा उपसमितिकी सदस्य विनिता भट्टराई, अधिकारीसँग छ । रु १०० देखि ५० हजारसम्म महिलाबाट तीज बचत भएको छ ।
बचत कार्यक्रममा महिलाले रु २३ लाख बढी संकलन गरिसकेका छन् । तीजको अबसरमा गर्जाे टार्नका लागि मात्रै यो रकम निकाल्न पाईने व्यवस्था रहेको प्रभाव बचतकी अध्यक्ष ईश्वरी शर्माले बताइन् ।
दुखसुख बेदनाका गीतसंगै बचत, संरक्षण तथा सहकारीका गीत गाउने गरेर संस्कृति अनुसार तीज मनाउन थालिएको सल्लाहकार शान्ति अधिकारीले जानकारी दिएकी छिन् ।
विगतमा त्यसै खेर जाने पैसा सबै बचत भएकोमा सदस्यहरु खुसी छन् । महिलाले मात्रै सञ्चालन गरेको देशका हजारौं सहकारीमध्ये यो सहकारीले नयाँ चेलीलाई शेयर उपहार दिने नयाँ कार्यक्रम समेत चलाउने भएको छ ।
यस्तै बालबचत, बृद्धबृद्धा बचत, युवा बचत कार्यक्रम समेत छ । जिल्लामै महिलाले सञ्चालन गरेको नमूना सहकारी प्रभातको रु १२ करोड माथिको कारोबार रहेको सचिव सरस्वती कतिलाले जानकारी दिएकी हुन् ।
Chitwan
teej ma bachat