News

तीजकाे मेला विगत २७ वर्षमा सबैभन्दा व्यवस्थित भएको कोषकाे दाबी

तीजकाे मेला विगत २७ वर्षमा सबैभन्दा व्यवस्थित भएको कोषकाे दाबी
teej भदाै - १९ । हारितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा अाइतबार लागेको मेला विगत २७ वर्षमा नै सबैभन्दा व्यवस्थित भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मेला व्यवस्थित भएका कारण २७ वर्ष अघिदेखि बन्द हुँदै आएको चावहिल–गौशाला–पुरानो बानेश्वर र रातोपुल सडकमा यस वर्ष दिनभर सवारी साधन जाम भएन । दिउँसो केहीबेर सवारी रोकिए पनि दिनभर पैदल यात्रा गर्नुनपरेको यात्रुको भनाई छ । दर्शन एवम् पूजाका लागि आएका महिलाहरु पनि यस वर्ष पशुपतिमा व्यवस्थित भएकाले छिटो दर्शन गरेर फर्कन पाएको बताउँछन् । कौशलटारबाट आएकी रश्मी पौडेल यस वर्ष पशुपतिमा पहिलेभन्दा लाइनमा राम्रो व्यवस्था भएकोले छिटो दर्शन गरेर फर्कन पाइएको बताउँछिन् । विगत वर्षमा सशुल्क दर्शनका लागि कोषले रु एक हजारमा पास वितरण गर्दा लाइनमा बस्नेले दर्शन गर्न लामो समय कुर्नुपर्ने बाध्यता थियो । यस वर्ष कोषले सशुल्क पासको व्यवस्था खारेज गरेपछि छिटो दर्शन गर्न पाइएको दर्शनार्थीको अनुभव छ । यस वर्ष स्वयम्सेवक पनि हटाउँदा व्रतालु महिला बाहेकको भीड कम भएकाले छिटो दर्शन गर्न पाइएको दर्शनार्थीले बताएका छन् । कोष स्थापना भएदेखि अहिलेसम्मको व्यवस्थापनमा यस वर्ष राम्रो भएकाले यसलाई शिक्षाका रुपमा लिई भक्तजनले औँल्याएका कमीकमजोरीलाई अर्को वर्षदेखि सुधार्ने प्रतिबद्धता कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले जनाएका छन् । अर्की दर्शनार्थी कमला रिसाल भने आस्थाका साथ पशुपतिमा आएर पूजा सामग्री पशुपतिनाथमा चढाउन खोज्दा पनि सामग्री थुन्सेमा हालिएको गुनासो गर्छिन् । भक्तजनले यसमा सुधार गरिनुपर्ने माग गर्दै आएका छन् । रातो पहिरनमा सजिएका महिला पशुपति दर्शनपछि परिसरमा नाचगान गरी रमाइलो गरिरहेका छन् । यस वर्ष नौ लाख ब्रतालुले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी ६ः३० बजे र प्रधान न्यायाधीश सुशीला कार्कीले ७ः०० बजे दर्शन गर्ने कार्यक्रम रहेको सदस्य सचिव टण्डनले जानकारी दिए । तीजका अवसरमा आज देशभरका शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । अविवाहित महिलाले सुयोग्य वर प्राप्ति र विवाहित महिलाले परिवारको सुख शान्तिको कामना गर्दै भाद्र शुक्ल तृतीयाका दिन सक्नेले निराहार, नसक्नेले जलाहार वा फलाहार गरी व्रत बस्ने गर्दछन् ।

byabasthit vayo Pashupati Teej

विशेष