फुड News

सरकारद्वारा म्याद नाघेका तीन करोड बराबरको अखाद्य र खाद्यवस्तु नष्ट

सरकारद्वारा म्याद नाघेका तीन करोड बराबरको अखाद्य र खाद्यवस्तु नष्ट

Nasta

भदौ २० । सरकारले करिब तीन करोड मूल्यबराबरको अखाद्य खाद्यवस्तु नष्ट गरेको छ । आपूर्ति मन्त्रालयले ३१ साउदेखि १७ भदौसम्म अनुगमन गरी बजारबाट जफत गरिएका खान अयोग्य खाद्यवस्तु नष्ट गरेको हो । जफत गरिएका सामान आइतबार दिउंसो आपूर्तिमन्त्री दीपक बोहराले नष्ट गरे ।

कीर्तिपुरको सुन्दरीघाटस्थित नदी किनारामा खाल्डो खनेर सामान नष्ट गरिएको मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले जानकारी दिए । उनका अनुसार १३ गाडीमा सामान ओसारेर नष्ट गरिएको हो । यी खाद्यान्न नष्ट सरकारले नष्ट गरेका धरै सामान जंकफुड छन् ।

बजारमा बिक्रीका लागि राखिएका कोकाकोला र पेप्सीको हल्का पेयपदार्थ, आलुचिप्स, चाउचाउ, पिनट, जुस, चामल, निम्की, साबुन, चकलेट, हर्लिक्स, बियर, पास्ता, मैदाजस्ता सामग्री नष्ट गरिएको छ । त्यस्तै, वाइवाई क्विक र भेजिटेबल चाउचाउ, गरम मसला, मस्म मसला, रातो खुर्सानीको धुलो, ओलिभ ओयल, बिस्कुट, मिर्च मसला, पापड, हल्दिराम मुङ दाल, पाउडर दुध, सोयाबिन सस, बिमएसी मसला, कुरकुरे, लेज, पाउडर कफी, चियाको धुलो पनि नष्ट गरिएको छ । औषधि, स्यान्डविच, आँटा, आइसक्रिम, मिठाई, मिठाई बनाउन प्रयोग हुने अखाद्य रङसमेत नष्ट गरिएको विभागले जनाएको छ ।

दाल, गेडागुडी, बट्टामा राखिएका मह, कुकिज बिस्कुट, रसबरी, चमचम मिठाई, गुदपाक, खुवा, लड्डु, माछा, मासु, ससेजलगायतका खाद्यन्न नष्ट गरिएको छ । यसका साथै मिति गुज्रेका छालामा लगाउने क्रिम, फेसवास, बडी स्प्रे अत्तर, स्याम्फु, टुथपेस्ट, टाउकामा लगाउने तेल, शरीरमा दल्ने पाउडर, लुगा धुने पाउडर, लुगा धुने र नुहाउने साबुनलगायत पनि नष्ट गरिएको विभागले जनाएको छ । ठूला व्यावसायिक घराना परे म्याद नाघेको सामान गोदामा मौज्दात राख्नेमा व्यावसायिक घराना अघि देखिएका छन् । त्यस्ता खाद्यान्न वितरणमा सबैभन्दा अग्रणी एसियन डिस्ट्रिब्युटर्स र युनाइटेड डिस्ट्रिब्युटर्स देखिएका छन् । दुवै कम्पनी नेपालको अग्रणी व्यवसायी घराना विशाल ग्रुपअन्तर्गतका हुन्। विभागका निर्देशक लक्ष्मण श्रेष्ठका अनुसार युनाइटेड डिस्ट्रिब्युटर्सको गोदामबाट म्याद नाघेका एक लाख ३१ हजार प्रकारका खाद्यवस्तु जफत गरिएको थियो । ‘यी सामानको मूल्यांकन गर्न पाएको छैन,’ उनले भने । त्यसबाहेक युनाइटेड डिस्ट्रिब्युटर्सको एक लाख एक हजार चार सय ८१ रुपैयाँ मूल्यबराबरको म्याद नाघेको सामान जफत गरिएको विभागले जनाएको छ ।

एसियन डिस्ट्रिब्युटर्सको गोदामबाट २१ हजार पााच सय ८५ रुपैयाँ मूल्यको म्याद नाघेको खाद्यसामग्री नष्ट गरिएको छ । चौधरी ग्रुपअन्तर्गतको सिजी फुड्स नेपालको एक हजार पााच सय सात र सिजी इक्जिम नेपालको १० हजार ६ सय ८५ मूल्यबराबरको म्याद नाघेको सामान नष्ट गरिएको छ । डाबर नेपालको ५८ हजार आठ सय ६७ रुपैयाँ र युनिलिभरको दुई लाख ७६ हजार ९२ रुपैयाँको सामान नष्ट गरिएको विभागले जनाएको छ । नेबिको बिस्कुट दुई हजार सात सय ८९ र एसियन बिस्कुट उद्योगको दुई हजार एक सय २८ रुपैयाँ मूल्यबराबरको म्याद नाघेको बिस्कुट नष्ट गरेको विभागले जनाएको छ ।

Damage food Dipak Bohara Nasta

विशेष