विदेश

चिनियाँ जब्बर नीतिले अमेरिकाका राष्ट्रपति बराक ओबामालाई समेत बाँकी राखेन

चिनियाँ जब्बर नीतिले अमेरिकाका राष्ट्रपति बराक ओबामालाई समेत बाँकी राखेन

barak-obama-vs-si-jing-pingभदौ २० । जी–ट्वान्टी सम्मेलनका क्रममा चीनको हाङझाउ पुगेका बेला आफूप्रति कूटनीतिक अभद्रता’ प्रदर्शन गरिएको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले असन्तुष्टि प्रकट गरेका छन् । शनिबार आफू र आफ्नो टोलीमाथि भएको व्यवहारप्रति ओबामाले असन्तुष्टि पोखेका हुन् । अमेरिकी र चिनियाँ मूल्यमान्यता फरक भएका कारण यस्तो भएको आरोप उनले लगाए ।

यसै घटनाबाट पनि चीन र अमेरिकाको मूल्यमा भएको पृथक्ता स्पष्ट भएको उनको भनाइ छ । शनिबार विमानस्थलमा चिनियाँ अधिकारीले अमेरिकी सञ्चारमाध्यम र अन्य अमेरिकी अधिकारीलाई सुरक्षाको कारण देखाउँदै ओबामाको विमाननजिकै जान दिएका थिएनन् ।

अमेरिकी अधिकारीले आफू ओबामासम्म पुग्न पाउनुपर्ने भन्दै आपत्ति प्रकट गरे पनि त्यो सम्भव भएको थिएन । यो अमेरिकी विमान भएको भन्दै अमेरिकी अधिकारीले त्यहाँसम्म जान पाउनुपर्ने माग राखेपछि चिनियाँ अधिकारीले उक्त विमानस्थल चीनको भएको जबाफ दिएका थिए । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइस र ह्वाइट हाउसको प्रेस हेर्ने अधिकारीमाथि पनि चिनियाँ अधिकारीले सुरक्षा जाँच गरेका थिए ।

यसै विषयलाई लिएर ओबामाले मानवअधिकार र प्रेस स्वतन्त्रताप्रतिको चिनियाँ दृष्टिकोण भन्दै व्यंग्य गरेका थिए । यो व्यवहार नै दुई देशबीच पाइने प्रेस र स्वतन्त्रताप्रतिको फरक भएको उनको भनाइ थियो । ओबामाले यो विषय बेलायती प्रधानमन्त्री टेरेसा मेसँग पनि उठाएका थिए । चीनको यस्तो व्यवहार पहिलोपटक नभएको भन्दै उनले टिप्पणी गरेका थिए ।

उनले भने, ‘हामीले गरेको कामसम्म प्रेसको निर्बाध पहुँच हुनुपर्छ । हामीले यात्राका क्रममा पनि यस्ता आदर्शको सम्मान गर्छौं ।’

अरू मुलुक यात्राका क्रममा अमेरिकी अधिकारीको सुरक्षा जाँच र ती अधिकारीलाई विशेष छुट दिइएको हुन्छ । विमानबाट उत्रनासाथ अमेरिकी राष्ट्रपतिको तस्बिर दिन त्यस्तो छुट दिइने अमेरिकी भनाइ छ ।

यसअघि ओबामाको आगमनमा समेत उनलाई नियोजित रूपले रातो कार्पेटबाट हिँड्न अमेरिकी सरकारले वञ्चित गरेको थियो । उनलाई चिनियाँ सरकारले एयरफोर्स विमानबाट ओर्लने क्रममा सिँढीको समेत व्यवस्था गरेको थिएन । जी–ट्वान्टी सम्मेलनमा पुगेका संसारभरिका अन्य १८ नेताका लागि भने चिनियाँ प्रशासनले रातो कार्पेटको व्यवस्था गरेको थियो ।

अन्नपूर्ण पोस्ट्बाट

विशेष