अपराध सुरक्षा ताजा खबर News

पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ

पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ

Shyam Sundar

भदौ २१ । अपहरण अभियोगमा ३ वर्ष सजाय काटेर जेलमुक्त भएका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता एक महिलासँग रकम असुल गर्न अपहरणको धम्की दिएको अभियोगमा पुनः पक्राउ परेका छन् । एक महिला उद्यमीलाई पटक–पटक फोन गरी धम्क्याएर ५० लाख रुपैयाँ मागेको र नदिए अपहरण गर्ने धम्की दिएको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले सोमबार उनलाई चाल्सीखेलबाट पक्राउ गरेको हो । उनी १ वर्षअघि मात्रै कारागारमुक्त भएका थिए ।

परिसरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले अपहरण तथा शरीर बन्धक उद्योगमा अदालतमा पेस गरी ४ दिनको म्याद लिएर अनुसन्धान थालिएको बताए । स्रोतका अनुसार पीडित महिला र गुप्ता परिचित नै हुन् । अनुसन्धान प्रारम्भिक चरणमा रहेको भन्दै जाहेरीकर्ता र गुप्ताबीचको सम्पर्क र सम्बन्ध, पैसा असुल्न गुप्ताले परिचालित सहयोगीबारे भने प्रहरीले खुलाएको छैन । ‘प्रारम्भिक अनुसन्धानमा आफैं र सहयोगी परिचालन गरी एक उद्यमीलाई अपहरणको धम्की दिएर रकम मागेको देखिएपछि पक्राउ गरेका हौं,’ एसएसपी अधिकारीले भने, ‘अहिले हामी प्रारम्भिक अनुसन्धानको चरणमा छौं ।’

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गुप्ताको गतिविधिबारे एक साताअघि सूचना आएपछि प्रहरीले निगरानी थालेको थियो । निगरानीका क्रममा गुप्ता काठमाडौंबाहिर जाने तयारीमा रहेको थाहा पाएपछि पक्राउ गरिएको हो । पूर्वआपूर्तिमन्त्री गुप्ता व्यापारी पवन संघाईको अपहरण गरी ८५ लाख रुपैयाँ फिरौती असुलेको अभियोगमा २०६८ माघमा पक्राउ परेका थिए । राजधानीको कमलादी गणेशस्थानमा दर्शनका लागि गएका संघाईलाई पुस ७ मा अपहरण गरी काभ्रे र्पुयाएर उनको परिवारसँग रकम असुलेर २० दिनपछि मुक्त गरेका थिए ।

अनुसन्धानमा आपूर्तीमन्त्री हुँदा पेट्रोलपम्प सञ्चालनका लागि संघाईलाई दिएको अनुमतिको विषयमा लेनदेन बिग्रिएपछि गुप्ताले सहयोगी खटाएर उनको अपहरण गराएको खुलेको थियो । अपहरण अभियोग पुष्टि गर्दै जिल्ला अदालत काठमाडौंले गुप्तालाई ३ वर्ष कैद सजाय सुनाएको थियो । संघाई भने अहिले औषधि बनाउन नेपाल भित्र्याएको सहायक रसायन लागूऔषधका कारोबारीलाई बिक्री गरेको अभियोगमा फरार छन् ।

कारागारमै रहेको बेला उपचारका लागि हिमाल अस्पतालमा भर्ना भएका गुप्ताले अस्पतालबाट भाग्न चिकित्सक छोरासँग मिलेर सुरक्षामा बसेका प्रहरीलाई खानामा नशालु पदार्थ मिसाएर बेहोस बनाएका थिए । अस्पतालको अर्को कोठामा रहेका कैदी कुर्न बसेका प्रहरीका कारण उनी भाग्न भने पाएका थिएनन् । कैद सजाय भुक्तान गर्दै गत साउन २ मा उनी डिल्लीबजार कारागारबाट मुक्त भएका थिए ।

Shyam Sundar Guptta

विशेष