चाइनाले सञ्चालन गर्यो 'चाइना स्ट्यान्डर्ड' बुलेट ट्रेन
भदौ - २१ । दि चाइना रेलवे कर्पोरेसनले सोमबार ‘चाइना स्ट्यान्डर्ड’ बुलेट ट्रेनले सेवा सुरुवात गरेको घोषणा गरेको छ ।
इलेक्ट्रिक मल्टिपल युनिट्स (ईमयु)का रूपमा परिचित यो पहिलो रेल सेवा हो, जसको पूरै डिजाइन चीनमा नै तयार भएको छ । उत्तरपूर्वी चीनको लायोनिङ प्रान्तमा यसको सेवा सुरुवात भएको हो ।
जी ८०४१ नम्बरको रेल लायोनिङको राजधानी सेन्याङबाट यात्रुसहित हिँडेको थियो । चाइना स्ट्यान्डर्ड पहिलोपटक सर्वसाधारणको यात्राका लागि प्रयोगमा ल्याइएको चाइना रेलवे कर्पोरेसनका टेक्नोलोजिक हेड झु लीले बताएका छन् ।
“चीन आफैंले तयार पारेको डिजाइनमा रेल तयार भएको छ, बाँकी विश्वलाई चीनले नै यो रेल निर्यात गर्नेछ,” उनले भने । चाइना स्ट्यान्डर्ड ईएमयुमा पछिल्लो डिजाइन, कम इन्धन खपत हुने प्रविधि र स्तरीय पार्टपुर्जा जडान गरिएको उनले बताए । यसमा सुरक्षाका लागि विभिन्न सुविधा थप गरिएको छ, जुन पुराना मोडलमा उपलब्ध छैनन् ।
यो रेल ३५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्छ । भविष्यमा चीनले रेल र योसँग सम्बन्धित सेवासमेत अन्य मुलुकलाई निर्यात गर्ने जनाएको छ । चिनियाँ बुलेट ट्रेनहरुले अहिले पनि इन्डोनेसिया, रसिया, इरान र भारतलगायत मुलुकमा बजार पाइरहेका छन् ।
bullet train
China