News

अभिभावकद्वारा विद्यालयमा तालाबन्दी

अभिभावकद्वारा विद्यालयमा तालाबन्दी
talabandi भदाै - २१ । शिक्षक सेवा आयोगको परीक्षा दिन भन्दै गाउँबाट हिँडेका शिक्षकहरु अहिलेसम्म नफर्केपछि उत्तरी गोरखाको कासीगाउँ गाविसको मञ्जुश्री मावि अभिभावकले बन्द गरेका छन् । शिक्षक अभिभावक सङ्घका अध्यक्ष लुमप्रसाद गुरुङ नेतृत्वको समूहले गत आइतबार विद्यालयमा ताला लगाएपछि विद्यालय बन्द छ । यही भदौ ७ गते आयोगको परीक्षा दिन भन्दै विद्यालय बन्द गरी शिक्षक सदरमुकाम झरेका थिए । भदौ १५ गतेदेखि विद्यालय खुलाउने भनिए पनि १२ जनामध्ये छ शिक्षक विद्यालयमा अनुपस्थित रहेपछि अभिभावकले विद्यालयमा ताला लगाएको बताएका छन् । “बाटो हेर्दाहेर्दै शिक्षक आएनन् । आज आउलान् भन्यो आउँदैनन्, भोलि आउँछन् कि भन्यो आएनन्” उनले भने – “गाउँलेहरु एक मत भएर विद्यालयमा ताला लगाएका हौँ ।” जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई सम्पर्कमा ल्याई विद्यालयमा पठाएपछि ताला खोल्ने उनीहरुको भनाइ छ । अभिभावकले विद्यालयमा ताला लगाएपछि मान्वुस्थित प्रहरी चौकीका प्रहरी कासीगाउँ पुगेका छन् । प्रअ राजकुमार श्रेष्ठ पनि विद्यालयको सम्पर्कमा नभएको भन्दै स्थानीयवासी आसबहादुर घलेले १५ दिनदेखि विद्यालयमा भद्रगोल हुँदै आएको बताएका छन् । “विद्यार्थी स्कुल गएर खेलेर फर्किन्छन्” – उनले भने । विद्यालयका शिक्षक धनकुमार घलेले प्रक्रिया मिचेर आफ्नी श्रीमतीलाई विद्यालयमा नियुक्ति गरेपछि विवाद भएको स्थानीयवासी मानबहादुर गुरुङले बताए । जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले विद्यालय नगएका शिक्षकलाई स्पष्टीकरण सोधिने बताउनुभयो । “परीक्षा दिन जाने भन्दै विद्यालय बन्द गर्न पाइँदैन” – जिशिअ सुवेदीकाे भनाइ छ ।

Gorkha School talabandi

विशेष