ताजा खबर प्रवास News

सेनाको अनुमति बिना बोल्न मिल्दैनः कर्णेल लामा

सेनाको अनुमति बिना बोल्न मिल्दैनः कर्णेल लामा

kumar lama भदौ २२ । दस लाख पाउन्ड खर्च हुनेगरी झण्डै साढे तीन वर्षदेखि बेलायतमा यातनासम्बन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाको पक्षमा फैसला भएको छ ।

सरकारी अभियोजक पक्ष (क्राउन प्रोसिक्युसन सर्भिस) ले लामालाई दोषी ठह¥याउन सक्ने पर्याप्त आधार नभएको भन्दै मुद्दा अघि नबढाउने निर्णय लिएपछि लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौजदारी अदालत) ओल्ड बेलीमा कोर्ट नम्बर ६ मा मंगलबार जस्टिस स्विनी नेतृत्वको इजलासले लामालाई निर्दोष साबित गर्दै मुद्दा टुंग्याएको हो ।

‘न्यायको जित भएको छ,’ फैसलापछि ओल्ड बेली बाहिर ४९ वर्षीय कर्णेल लामाले भने । लामाले मुद्दामा सफाइ पाएपछि क्षतिपूर्ति खोज्नेबारे आफूलाई केही थाहा नभएको बताए ।ज्यादै हँसिलो देखिएका लामाले नेपाली सेनाको अनुमति विना थप बोल्न नमिल्ने बताए । तस्बिर खिच्न आग्रह गर्दा उनले हाँसेर टारिदिए, ‘फोटो नखिचौं होला ।’

लामाका साथ उनकी छोरी पनि आएकी थिइन् । तर, लन्डनस्थित नेपाली दुतावासबाट भने कोही पनि प्रतिनिधि त्यहाँ उपस्थित थिएनन् । लामामाथि ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक ब्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोगमा विश्वव्यापी क्षेत्राधिकार कानुनअन्तर्गत मुद्दा लगाइएको थियो ।

लामाका तर्फबाट किङ्सले नेप्ली फर्मका म्याथु बट र रोबर्ट मोरिसले मुद्दा प्रतिनिधित्व गरिरहेका थिए । लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्स १९८८, १३४ अन्तर्गत मुद्दा चलाइएको थियो । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्ति स्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेट्न बेलायत आउँदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो । कान्तिपुरबाट

kumar lama

विशेष