News

पर्वतमा बाढीले ६ घर बगायो

पर्वतमा बाढीले ६ घर बगायो
badhi 19 भदौ - २३ । बुधबार दिउँसोदेखिको अविरल वर्षाका कारण पर्वतको फलेवास पातीखोलामा आएको बाढीले ६ वटा घर बगाएको छ । बाढीले माछा फर्म र पातीखोला जलविद्युत् केन्द्रमा समेत क्षति पुर्याएको छ । घटनामा परी कुनै मानवीय तथा चौपायको क्षति भने भएको छैन । गएराति ३ बजेको समयमा आएको बाढीले देउपुर गाविस–९ मा ६ घर बगाएको हो। घर बगाएर बिस्थापित भएका उनीहरु अहिले आफन्तकोमा सहारा लिएर बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । देउपुर–९ का खोला किनारमा रहेका सुन्दर विक, अन्तरे विक, कालु विक, प्रेमप्रसाद चापागाईं, यामबहादुर चोचाङ्गी र बाजुङ–१ का मनबहादुर पौडेलको पानी मिल समेत बाढीले बगाएको छ । स्थानीय यामबहादुर चोचाङ्गीको धौलागिरि साबुन फ्याक्ट्रीमा बाढीले क्षति पुर्याउँदा लाखौँको धनमाल बगाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले देउराली गाविस–६ मा रहेको एक मेघावाट क्षमताको पातीखोला जलविद्युत् केन्द्रमा पनि क्षति पुर्याएको छ । बाढी पसेपछि सो केन्द्रको विद्युत् उत्पादन समेत बन्द भएको छ । बाढीले करोडौँको लगानीमा पार्वती आमा समूहले सञ्चालन गरेको पातीखोला रेन्बोट्राउट फार्ममा समेत ठूलो क्षति पुगेको सञ्चालक यामप्रसाद शर्माले जानकारी दिए । अहिले सबै परिवारको क्षतिको विवरण लिने काम भइरहेको तर घटनाको पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

Badi Parbat

विशेष