यसरी पुर्याउँछन् तस्करले अमेरिका
भदौ २४ । अवैध रुपमा अमेरिका लैजाने तथा मानव ओसारपसार तथा बेचबिखन गर्ने गिरोहमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुम, मग्मा गाविस घर भई हाल ललितपुर महालक्ष्मी स्थान बस्ने ३२ वर्षे ‘नवीन’ भनिने नवराज खत्री र बाग्लुङ, रिगा गाविस घर भई हाल लैनचौर बस्ने ३७ वर्षे सागर शिरीषलाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले यही भदौ १७ गते पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । उनीहरुले सङ्गठित रुपमा अन्तर्राष्ट्रियस्तरको सञ्जाल बनाएको अनुसन्धानका क्रममा खुल्न आएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।
अभियुक्तले नवलपरासी, रुपौलियाका प्रेमनारायण महतोलगायत व्यक्तिलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हँुदै विभिन्न देश ‘ट्रान्जिट’ बनाई अमेरिका पठाइदिने भनी प्रलोभनमा पारी प्रतिव्यक्ति २० लाख रुपैयाँदेखि ३० लाख रुपैयाँसम्म रकम लिएको महाशाखाले जनाएको छ ।
काठमाडौँबाट भारत–थाइल्यान्ड–जापान–फ्रान्स–मेक्सिको हुँदै अमेरिका जान लागेका अवस्थामा पीडित महतो भदौ १७ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ४० हजार डलरसहित पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अनुसन्धानका क्रममा खत्री र शिरीष गिरोहको खुलासा भएको हो । अनुसन्धानका क्रममा अमेरिकामा मानव तस्करी गर्न प्रयोग गरिने विभिन्न मार्गसमेत पत्ता लागेको खनालले जानकारी दिए ।
मानव तस्करीका लागि प्रयोग गरिएको पहिलो मार्गमा काठमाडौ–भारत–फ्रान्स–मेक्सिको–अमेरिका, दोस्रो मार्गमा काठमाडौ–भारत, जापान ट्रान्जिट हुँदै मेक्सिको–अमेरिका र तेस्रो मार्गमा काठमाडाँै–सिंगापुर–जापान–मेक्सिको–अमेरिका छ ।
ती देशमा रहेका एजेन्टले नेपालबाट पठाइएका उनीहरुलाई सम्पर्क गर्ने र अन्य देशमा जानका लागि आवश्यक व्यवस्था मिलाउने गरेका थिए । मेक्सिकोमा पुगेपछि सबै मानिस अलपत्र पारी मेक्सिको प्रहरीले पक्राउ गरी थुनामा राख्ने गरेको छ । थुनामा परेपछि त्यहाँको एजेन्टले भेटी उनीहरुलाई कानुन व्यवसायीसँग सम्पर्क गराइदिने गरेको खनालले बताए ।
जेनीशा नामकी कानुन व्यवसायीले थुनामा परेका व्यक्तिबाट प्रतिव्यक्ति १० हजार डलर लिई कानुनी सहजताको काम गर्ने गरेको र कानुनी प्रक्रिया मिलाई मेक्सिको प्रहरीको थुनाबाट मुक्त गरी अमेरिकाको टेक्सासको शरणार्थी शिविरमा राख्ने व्यवस्था मिलाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
मानव तस्करी गर्दा काठमाडौँमा अमेरिका जान इच्छुक व्यक्तिसँग सम्पर्क गरी यहाँका एजेन्टले प्रतिव्यक्ति १० लाख रुपैयाँ, मेक्सिको पुगेपछि कानुन व्यवसायीले १० लाख रुपैयाँ र टेक्सास शरणार्थी शिविरमा पुगेपछि १० लाख रुपैयाँ गरी तीन किस्तामा रकम लिने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
Manab Taskari