News

इन्द्रध्वजा फहराउन ल्याइएको लिङ्गो हनुमानढोका पुर्याइयाे

इन्द्रध्वजा फहराउन ल्याइएको लिङ्गो  हनुमानढोका पुर्याइयाे
bisket भदाै - २४ । यस वर्षको इन्द्रजात्राका लागि इन्द्रध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो) शुक्रबार नगर प्रवेश गराई हनुमानढोका पुर्याइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन उक्त लिङ्गोलाई हनुमानढोका पुर्याइने चलन छ । भाद्र शुक्ल चौथीका दिन भक्तपुरको चित्तपोल जङ्गलबाट सो लिङ्गो भोटाहिटीमा ल्याइएको थियो । चित्तपोल जङ्गलबाट सो लिङ्गो हनुमानढोकासम्म पुर्याउने जिम्मेवारी केन्द्रीय मानन्धर सङ्घले लिएको छ । भोटाहिटीमा विधिविधानपूर्वक पूजा गरी आज त्यसलाई नगर प्रवेश गराइएको र यही भदौ २८ गते शुभसाइत हेराएर लिङ्गो उठाई इन्द्रध्वजा फहराइने मानन्धर सङ्घका प्रतिनिधि मोहनकृष्ण मानन्धरले जानकारी दिएका छन् । यसैबीच प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन हनुमानढोकाको कागेश्वरी मन्दिरमा लाग्ने मेला सम्पन्न भएको छ । हिन्दू धर्मावलम्बीले कागेश्वरी दर्शन तथा पूजा गरेमा पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास छ । वर्षमा एक दिन मात्र खोल्ने भएकाले सो मन्दिरमा दर्शन गर्न मानिसको विशेष भिड लाग्ने गर्दछ । पहिला माथिसम्म गएर दर्शन गर्न सकिन्थ्यो भने अहिले भूकम्पका कारण मन्दिर जोखिममा परेपछि बाहिरबाट नै भक्तजनले दर्शन गरेका थिए । सर्वसाधारणको दर्शनका लागि बिहानैदेखि मन्दिर खुला गरिए पनि मन्दिरभित्र जान दिइएको थिएन । भक्तजनले सहज दर्शन गर्न पाएको बताउँदै मन्दिर मर्मत गरी पहिलाको जस्तो अवस्थामा पुर्याउनुपर्ने सुझाएका थिए ।

hanuman dhoka lingo

विशेष