News

उपत्यकाका नदीबाट १८ मेट्रिक टन फोहाेर व्यवस्थापन

उपत्यकाका नदीबाट १८ मेट्रिक टन फोहाेर व्यवस्थापन
phohor भदाै - २५ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १७४ औँ हप्तामा शनिबार टेकु दोभानमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । सफाइका क्रममा बङ्गुरलगायत चौपाया बध गरी रगत नदीमा बगाउनेको अनुगमन काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ नेतृत्वको समूहले गरेको थियो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, कामनपा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पचलीघाटस्थित चिन्तामणि महिला क्लबलगायत विद्यार्थीको पनि सहभागिता थियो । बागमती किनारस्थित पचलीघाटमा बागमती समिति, महानगरपालिका र चिन्तामणि महिला क्लबको सहकार्यमा उद्यान निर्माण गरी नदी संरक्षणमा सहयोग पुर्याउने सहमति भएको अधिकार सम्पन्न बागमती आयोजनाका निर्देशक राजेशप्रसाद सिंहले जानकारी दिएका छन् । “उद्यानका लागि महानगरपालिकालाई नमुना लागत (डिजाइन इस्टमेट) गर्ने अधिकार दिइएको छ, उद्यान निर्माणपछि नदी किनारको सार्वजनिक जग्गा संरक्षण हुनुका साथै बागमतीलाई सफा बनाउन पनि सहयोग मिल्ने आशा गरिएको छ”–उनले भनेका छन् । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, पूर्व सचिव किशोर थापालगायतका व्यक्तित्वको सक्रिय सहभागिता थियो । सफाइसँगै टेकु दोभान आसपासका घर–घरमा गई जनचेतनामूलक अभियान पनि सञ्चालन गरिएको छ । नदीमा फोहर नफालौँ, फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइमा सबै सहभागी बनौँ भनी टेकुवासीमा जागरण फैल्याइएको बागमती समितिकी माला खरेलले जानकारी दिए । आगामी शनिबार १७५ औँ हप्ताको बागमती सफाइ बागमती र मनोहरा दोभान शङ्खमुलमा हुने सो अवसरमा जानकारी गराइयो । सफाइसँगै बागमती समितिले निर्माण गरेको ज्येष्ठ नागरिक क्लिनिक पनि सञ्चालनमा ल्याइने निर्देशक सिंहले बताए । रुद्रमती सफाइको १३३ औँ हप्तामा शनिबार ज्ञानेश्वर–डिल्लीबजार–मैतीदेवी–रातोपुलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले बताएका हुन् । वर्षाका कारण पर्खाल लगाइएको नदीमा पस्न नसकिने भएकाले नदी आसपासको क्षेत्रमा सफाइ गरिएको हो । सफाइमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायत व्यक्तित्वको उपस्थिति थियो । विष्णुमती नदीको १०९ औँ हप्तामा आज डल्लुपुलमुनि सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी सानुमैयाँ महर्जनले जानकारी दिनुभयो । सफाइमा सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीय संस्थाको उपस्थिति थियो । नख्खु खोला सफाइको ६१ औँ हप्तामा शनिबार नख्खु पुलमुनि सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको नख्खुखोला सरोकार समाजका अध्यक्ष बलु पाण्डेले जानकारी दिए । सफाइमा कार्यविनायक नगरपालिकाका कर्मचारीलगायत स्थानीयवासीको सक्रियता थियो । सफा गरी निकालिएको फोहर ‘नेप्से म्याक’ प्रालिले व्यवस्थापन गर्नेछ । गुह्येश्वरीमाथिको बागमती क्षेत्रमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकालबारी टोल सुधार समितिले सफाइ गरेका छन् ।

fohor byabasthapan nadi

विशेष