डा केसीद्वारा अाफ्ना माग पूरा गर्न सरकारलाई ८ दिनकाे अल्टीमेटम
भदौ २५ । डा. गोविन्द केसीले सरकारलाई ८ दिने अल्टिमेटम दिंदै माग पूरा नभए नवौं पटक अनशन बस्ने घोषणा गरेका छन् । उनले असोज २ गतेसम्म आफ्नो माग पूरा नभए असोज ३ गतेदेखि अनशन बस्ने घोषणा गरेका हुन् ।
उनले आज विज्ञप्ती जारी गर्दै सरकारले विभिन्न चरणमा आफूसंग गरेको प्रतिबद्धता तथा सम्झौता कार्यान्वयनमा चासो नदेखाएको बताएका छन् ।
‘अहिले भइरहेको सबै चलखेल रोकेर हामीले दिएको सझुाव सहित चिकित्सा शिक्षा ऐन पारित गर्ने तथा लोकमानसिंह कार्की र राजनारायण पाठकमाथि महाअभियोगको प्रक्रिया अघि बढाउनेलगायतको पछिल्लो सम्झौंताको सबै बुँदा अक्षरश कार्यान्वयन नगरिएमा यही असोज ३ गतेदेखि पुन आमरण अनशन बस्ने घोषणा गर्दछु’, विज्ञप्तीमा लेखिएको छ ।
‘यसबाट उत्पन्न हुनसक्ने असहज अवस्थाका लागि राज्य जिम्मेवार हुनेछ’, विज्ञप्तीमा भनिएको छ ।
डा. केसीले आफ्नो ८ औं अनशन साउन १० गते १६ औं दिनमा तोडेका थिए । उनले अख्तियार प्रमुख कार्की र आयुक्त पाठकमाथि मेडिकल शिक्षामा गैरकानुनीरुपमा हस्तक्षेप गरेको भन्दै महाअभियोग लगाउनुपर्ने माग राखेका थिए ।
मेडिकल शिक्षामा विकृति हटाउनुपर्ने मागसहित डा. केसी यसअघि ८ पटक विभिन्न अनशन बसिसकेका छन् ।
Dr. Gobinda Kc