News

स्वास्थ्य मन्त्रीद्वारा प्रसूती वार्ड भवनकाे सिल्यान्यास

स्वास्थ्य मन्त्रीद्वारा प्रसूती वार्ड भवनकाे सिल्यान्यास
Gagan_Thapa_performing_speech_in_Sydney भदाै - २५ । स्वास्थ्य मन्त्री गगन थापाले बिरामी भएर उपचारका लागि सरकारी अस्पतालमा आउने दीन दुःखी जनताको उपचार सेवालाई परिणाममुखी हुने गरी काम गर्न स्वास्थ्यकर्मीसँग आग्रह गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा निर्माण हुन लागेको प्रसूति वार्ड भवनको शनिबार शिलान्यास गर्दै उनले सय दिनभित्र सुधारको अनुभूति हुने काम गर्नुपर्ने र यसका लागि मन्त्रालयले जस्तोसुकै सहयोग पनि गर्ने वचनबद्धता व्यक्त गरेका हुन् । मन्त्री थापाले आज कुन कुन चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने पालो हो, कुन कुन सेवा दिन सकिन्छ र कुन कुन कोठामा स्वास्थ्य परीक्षण हुन्छ, कुन सेवा अस्पतालले उपलब्ध गर्न सक्दैन भन्नेजस्ता सूचना लेखेर कोठा बाहिर टाँस्ने काम गरेर सूचना दिने परिपाटी बसाल्न अस्पताल प्रशासनलाई निर्देशन दिए । अस्पतालमा नपुग भौतिक सुविधा उपलब्ध गराउन मन्त्रालय तयार रहेको जानकारी गराउँदै उनले तर यो अभाव भयो भनेर नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन पुगे भने त्यसको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने बताएका छन् । मन्त्री थापाले स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई अघि बढाइने पनि बताए । सो अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सुपरिटेन्डेन्ट डा श्रीकृष्ण श्रेष्ठले अस्पतालका गतिविधिमाथि प्रकाश पारेका छन् । प्रसूति वार्ड भवन रु ३३ करोड ८७ लाख ९८ हजार ६८ को लागतमा आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न गरिने बताइएको छ ।

Gagan Thapa prasuti greha silyanyash

विशेष