ताजा खबर News

पहिरो झरेपछि खोटाङ अस्पताल जोखिममा

पहिरो झरेपछि खोटाङ अस्पताल जोखिममा

Hospitalभदौ २६ । नयाँ भवन निर्माणका लागि घडेरी सम्याउने क्रममा पहिरो झरेपछि जिल्ला अस्पताल खोटाङ जोखिममा परेको छ।  ठेकेदार कम्पनीले एस्काभेटर लगाएर घडेरी सम्याउँदा पहिरो झर्न थालेपछि अस्पताल प्रशासन, शव परीक्षण गृह र दुईवटा शौचालय भवन जोखिममा परेका हुन्।

भवन निर्माण गर्न लागिएको ठाउँमा घडेरी सम्याउँदा पानी उब्जिएर पहिरो झर्न थालेपछि समस्या भएको ठेकेदार कुमार आचार्यले जानकारी दिए। “एस्काभेटर लगेर सम्याउन थालेलगत्तै माथिल्लो भाग बगेर झर्न थाल्यो”, उनले भने, “लगातार पहिरो झरेपछि अहिले काम रोकिएको छ।”  पहिरोका कारण खर्च बढ्ने भएकाले रकम थप गरिनुपर्ने ठेकेदार आचार्य बताउँछन्।

पहिरो झर्नेक्रम नरोकिएपछि जल उत्पन्न डिभिजन कार्यालयको सहयोगमा जाली हाल्ने काम गरे पनि नरोकिएपछि झनै समस्या भएको जनाइएको छ।  पहिराले अस्पताल प्रशासनको जगसमेत तानेर लगेपछि दैनिक कामकाजमा समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताए। अस्पताल परिसरभित्र पहिरो झरेपछि सहायक प्रजिअ दिनेश कुमालको रोहबरमा जिल्ला प्रहरी कार्यालयले सर्जमिन मुचुल्का तयार गरेको छ।

दुई वर्षभित्र निर्माण सम्पन्न गरेर अस्पताललाई बुझाउनेगरी सम्झौता भएको भवन अढाइ तले हुने सहरी विकास भवन डिभिजन शाखा कार्यालय खोटाङका प्रमुख इन्जिनियर भुपाल मगरले बताए। कार्यालय प्रयोजनका लागि बनाउन लागिएको भवनको खानी निर्माण सेवा प्रालिले ठेक्का प्राप्त गरेको हो।  सहरी विकास भवन डिभिजन कार्यालय उदयपुरको दुई करोड ३६ लाख लगानीमा भवन निर्माण गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ। विसं २०४८ मा स्थापना भएको जिल्ला अस्पताल खोटाङमा हाल भवन अभाव हुँदा समस्या रहेको विकास समितिका अध्यक्ष नारायण जोशीले जानकारी दिए।

Khotang Hospital

विशेष