News

पुनरावेदन अदालतमा मुद्दाको चाप बढे पनि न्यायाधीशको कमी

पुनरावेदन अदालतमा मुद्दाको चाप बढे पनि न्यायाधीशको कमी

भदाै - २६ । पुनरावेदन अदालत इलाममा मुद्दाको चाप बढे पनि न्यायाधीशको कमीले कमै मात्रामा मुद्दा फैसला हुने गरेको छ ।

विसं २०६६ देखि पाँचजना न्यायाधीश रहने गरेको पुनरावेदन अदालतमा हाल दुईजना मात्र न्यायाधीश रहेका छन् । एकजना न्यायाधीश बिदा बसेमा बेन्च नै खाली हुने गरेको अवस्था रहेको छ ।न्यायाधीश कम हुँदा आव २०७२-७३ मा एक हजार ५२५ मुद्दा रहेकामा ७२९ वटा मुद्दा फैसला भएको पुनरावेदन अदालत इलामका निमित्त रजिष्ट्रार रोशनकुमार भट्टराईले जानकारी दिएका छन् ।

'एकजना न्यायाधीश बिदा बस्नुभयो भने मात्र इजलास बस्न नसक्ने हुँदा थोरै समयमा धेरै मुद्दा फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।'– भट्टराईले भनेका छन् ।गत साउन महिनामा २० मुद्दा फैसला भएको यो अदालतमा भदौ महिनामै ११४ मुद्दा फैसला भएको छ ।

६२ दिनमा जम्मा १६ दिनमात्र बेन्च बस्न सकेकाले मुद्दा फैसलामा कम भएको र एकैदिन १५ देखि २० वटा मुद्दा फैसला हुने गरेको अदालतका मुख्य न्यायाधीश रमेशकुमार पोख्रेलले बताएका हुन् ।न्याय प्रशासन संशोधनसम्बन्धी विधेयक सदनमा टेबल भएको र अस्थायी न्यायाधीशहरू पदमुक्त भएका कारण पुनरावेदन अदालतमा न्यायाधीशको सङ्ख्यामा कमी भएको बताइएको छ ।

प्रदेशमा उच्च अदालत गठन र हाल रहेका पुनरावेदन अदालतको स्वरूपका बारेमा विधेयक पास भएपछि मात्र व्यवस्था हुने भएपछि तत्कालै न्यायाधीशको सङ्ख्या थप हुने अवस्था नरहेको उनको भनाइ छ ।एक वर्षदेखि १८ महिनासम्मको मुद्दा ७७ वटा र १८ महिनादेखि दुई वर्ष नाघेको मुद्दा गत साउनमा फस्र्योट भइसकेको अदालतले जनाएको छ ।

ilam mudda punarabedan adalat

विशेष