News स्वास्थ्य

मास हिष्टेरियाका कारण विद्यालयको पठनपाठन प्रभावित

मास हिष्टेरियाका कारण विद्यालयको पठनपाठन प्रभावित

histeria भदौ २८ । छात्रामा अनौठो किसिमको लक्षण देखिएपछि जिल्लाको एक विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा अध्ययनरत छात्रामा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि शारदा मावि हौंचुरको पठनपाठन प्रभावित भएको हो ।

कक्षा ६ देखि माथिका छात्रामा महिनादिन अघिदेखि उक्त लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक रामकुमार बरुवालले जानकारी दिए । “सुरुमा कक्षा १० मा अध्ययनरत सविना बरुवाल र रक्षा कार्कीमा उक्त लक्षण देखिएको थियो”,  “अहिले दैनिक १२ देखि १५ जना छात्रामा देखिन्छ ।” छात्रा बिरामी भएपछि महिनादिनदेखि पठनपाठनमा समस्या भएको विद्यालय परिवारले जनाएको छ । विद्यार्थीमा देखिएको लक्षणका बारेमा स्वास्थ्य उपचार गराउँदासमेत समाधान नभएको शिक्षकले बताएका छन् । छात्रा बिरामी हुने क्रम निरन्तर बढ्दै गएपछि उनीहरुका आफन्तले विद्यालयमै धामी राख्न दबाब दिने गरेको प्रअ बरुवालले बताए । उहाँका अनुसार अभिभावकले उक्त क्षेत्रमा तान्त्रिक शक्ति रहेको र सोही कारण छात्रा बिरामी भएको भन्दै विद्यालयमा तत्काल धामी राख्न दबाब दिने गरेका छन् ।

उक्त विद्यालयमा अध्ययन गर्ने छात्रामा यसअघि २०६०/६१ मा पनि सोही किसिमको लक्षण देखिएको विद्यालय परिवारले जनाएको छ । उस बेला छात्रामा देखिएको लक्षण केही महिनापछि  नियन्त्रणमा आएको थियो । शारदा मावि हौंचुरमा अध्ययनरत छात्रामा देखिएको लक्षण ‘मास हिस्टेरिया’ भएको जिल्ला अस्पताल खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताए । “उनीहरुमा देखिएको समस्याप्रति डराउनु पर्दैन”,  . “सामाजिक परामर्शकर्ताबाट परामर्श पाएपछि बिस्तारै ठीक हुँदै जान्छ ।”

यसअघि जिल्लाको खार्मी, विजयखर्क, बाक्सिलालगायत गाविसका विद्यालयमा अध्ययनरत विद्यार्थीमा समेत यस प्रकारको लक्षण देखिएको थियो । ती विद्यालयमा देखिएको समस्या केही समयपछि नियन्त्रणमा आएको शिक्षकले बताएका छन् ।

Mass Histeria

विशेष