सफलताको कथा News

एसएसलीका बेला सामुहिकरुपमा बलात्कृत पूजा बोहोरा प्रथम श्रेणीमा प्लस टु उत्तिर्ण

एसएसलीका बेला सामुहिकरुपमा बलात्कृत पूजा बोहोरा प्रथम श्रेणीमा प्लस टु उत्तिर्ण

puja-bohara

बैतडीकी पूजा बोहोराका लागि सामान्य हिसावले जीबन अघि बढेको भए प्लस टु ठूलो कुरा हुंने थिएन । नत उनको सफलता समाजका लागि उतिसारो चासोको विषय हुन्थ्यो । तर, उनको जीबनमा अकल्पनिय घटना आइलाग्यो ।

२०६८ सालमा एसएसली दिन जाँदा उनी सामुहिक बलात्कारको शिकार भइन् । रगतपच्छे भएकी उनको उद्धार गरी काठमाडौं ल्याइयो । मानसिकरुपमा विक्षिप्त रहेकी उनको ललितपुरस्थित पाटन मानसिक अस्पतालमा लामो समय उपचार भयो । बलात्कृत भएपछि उनी एसएसलीका बाँकी विषय दिन सकिनन् । अनुर्तिण भइन् ।

जीबनसँगै हार खाएकी उनका लागि एसएलसी पास हुनु र नहुनुले खाशै अर्थ राख्दैनथ्यो । रक्षा नेपालमा शरण लिएकी उनी विस्तारै बौरँदै गइन् । आफुलाई बलत्कार गर्नेका विरुद्ध मुद्धा हालिन । जिल्ला अदालतले दोषीलाई १३ बर्षको जेल सजाय तोक्यो । उनले केही गर्ने अठोट लिइन् । र, पुनः एसएलसी दिइन् । प्रथम श्रेणीमा एसएलसी पास गरिन् ।

पुनरावेदन अदालतले दोषीलाई उन्मुक्ति दिएपछि उनी पुनः विक्षिप्त भइन् । उनले बलत्कारी दोषी नभएको अवस्थामा बलात्कृत आफु दोषी हुँ ? भन्ने प्रश्न राज्यसँग तेर्साइन् । तत्कालिन कानून मन्त्री नरहरि आचार्यलाई पूजाले लेखेको पत्र संचारमाध्यममा प्रकाशित भयो । सो पत्रले नेपालको न्याय प्रणालीलाई पेचिलो प्रहार गर्यो । पूजालाई न्यायलयले न्याय दिन नसकेपनि चौतर्फीरुपमा प्रोत्साहन मिल्यो ।

उनले प्लस टु पढ्न थालिन् । उनका लागि उनको वास्तविक नाम र पूजा बोहोरा दुबै गोप्य राख्नुपर्ने बाध्यता थियो । रक्षा नेपालले एक कलेजसँग सर्टिफिकेटमा वास्तविक नाम आएपनि कलेज रजिष्टर र हाजिरीमा अर्कै नाम रहनेगरी भर्ना व्यवस्था मिलायो ।

पोहोर ११ कक्षामा प्रथम श्रेणी ल्याएकी पूजाले सोमबार समान अंक ल्याउँदै १२ पास गरिन् । नेपालआज सँग कुरा गर्दै उनले भनिन्, 'म दशैं पछि हुंने कानून संकायको स्नातक तहको प्रवेश परीक्षाको तयारीमा छु । म कानून पढ्छु र आफुजस्तै पीडितका पक्षमा असली न्याय दिलाउँनका लागि कानून व्यवसायी बन्छु ।'

रक्षा नेपालकी अध्यक्ष एंव पूजाले आमा मान्दै आएकी मेनुका थापाले पूजाको सफलतामा खुशी व्यक्त गरिन् 'पास र फेल स्वभाविक कुरा हुन् । तर, जुन परिस्थितिबाट पूजा यहाँसम्म आइन्, यो उदाहरणीय छ । उनमा एक किसिमको अठोट छ । न्यायलयबाट ठगिएको महशुस उनले गरेकी छिन् ।' पूजा बोहोराले तीन बर्ष अघि तत्कालिन कानून मन्त्रीलाई न्यायका लागि खुला पत्र लेखेपछि सरकारले पुनरावेदनको फैशला पुनरावेदनका लागि सर्वोच्वमा मुद्धा हालेको थियो ।

बर्षौ वितिसक्दापनि फैशला भएको छैन । महिला प्रधानन्यायाधीश भएको पनि महिनौं वितिसकेको छ । पूजा भन्छिन्, 'अचानोको पीर खुकुरीलाई थाहा हुँदैन । पीडितले मात्र पीडा बुझ्न सक्छ । त्यसैले मैले न्याय क्षेत्रमा लाग्ने प्रण गरेकी हुं ।'

Puja Bohara Rachhya nepal Rape in nepal

विशेष