अर्थ ताजा खबर News

भैसीलाई स्याउ !

भैसीलाई स्याउ !
bhaisi भदौ २९ ।  बाजुराको जुकोटमा यो वर्ष पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन । बेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई आहारका रूपमा खुवाउँदै छन् । जुकोटमा अधिकांश परिवारका २/४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउ  बारी राताम्मे देखिन्छन् । बजार पुर्‍याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम्दानी भने शून्य बराबर छ । स्थानीय भूपेन्द्र शाहीको बारीमा ४ सय बोटमा लटरम्मै फल लागेको छ । तर उनले अहिलेसम्म स्याउ बिक्री गरेर मुस्किलले सय रुपैयाँ आम्दानी गरेका छन् । ‘गाउँतिर स्याउ किन्ने ग्राहक नै छैनन्,’ उनले भने । बिक्री नभएर कुहिने अवस्था आएपछि स्याउका दाना गाईभैंसीलाई खुवाउनुपरेको उनले बताए । यति बेला जुकोट पुग्ने छरछिमेक र इष्टमित्रले बोक्न सकेजति स्याउ उपहार पाउँछन् । अपरिचित र किन्न चाहनेले डेलिसस, पञ्चमुखे, गोल्डेनलगायत जातका स्याउ रोजी(रोजी रुपैयाँका ५ दाना पाउँछन् । सदरमुकाम पुर्‍याउन सके त्यही स्याउ दानाको २० रुपैयाँसम्म पर्छ । ‘स्याउ खेती गरेर पनि के गर्नु ? खेर मात्रै जान्छ,’ स्थानीय स्वामी कार्तिक उमाविका शिक्षक नरेन्द्र मल्लले भने । यहाँका किसानले स्याउ बिक्री गर्नुपरे लगभग एक दिन टाढा पर्ने कोल्टी वा दुई दिन लाग्ने सदरमुकाम मार्तडी पुर्‍याउनुपर्छ । तर किसानहरूले डोकोमा बोकेर कोल्टी, मार्तडी पुर्‍याउने अवस्था छैन । भरिया खोजेर डोकोमा स्याउ पठाउँदा खर्च नै बढी हुने उनीहरू बताउँछन् । जुकोटमाथि देबाले र सैदेवो लेकमा स्थानीयका स्याउबारी छन् । स्याउ खेती गर्ने परिवार संख्या ७० भन्दा बढी छ । त्यहाँबाट गाउँमा ओसार्न पनि केही घण्टा लाग्छ । गाउँमा कोल्डस्टोरसमेत नभएकाले स्याउ भण्डारण गर्न सकिँदैन । विकट क्षेत्रका बासिन्दाले फलफूल उत्पादन गरेर पनि आम्दानी बढाउन नसक्नु विडम्बना भएको स्थानीय रामबहादुर शाही बताउँछन् । ‘सडक यातायातको पहँुच छैन । टाढाको बजारमा डोकोमा स्याउ बोकेर पुर्‍याउँदा फाइदा नै छैन,’ उनले भने, ‘सडक आइपुगेको भए लाखौं कमाउँथ्यौं ।’ जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार बाजुरामा झन्डै ३ सय हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । जिल्लामा वार्षिक सरदर ६ सय ६१ मेट्रिक टन स्याउ उत्पादन हुन्छ । कान्तिपुर  

Apple for Buffelo

विशेष