ताजा खबर राजनीति News

नेपाली कांग्रेसको भागिनी संस्था महिलासंघको तेस्रो महाधिवेशन आजदेखि

नेपाली कांग्रेसको भागिनी संस्था महिलासंघको तेस्रो महाधिवेशन आजदेखि

mahila-sangh भदौ २९ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘महिला सशक्तिकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु हुने उक्त महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

संघको नयाँ नेतृत्वका लागि उमा रेग्मी र मीना पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र सिटौलासमूहबीच मंगलबार राति भएको सहमति अनुसार उमा रेग्मी सो पक्षबाट सभापतिको उम्मेदवार हुने निश्चित भएको छ भने रामचन्द्र पौडेल समूहबाट मीना पाण्डे सभापतिको उम्मेदवार बन्ने निश्चित भएको छ । मंगलबार दिउँसो सिटौला समूहले आफ्नो प्यानलबाट छुट्टै प्यानलको घोषणा गर्ने जनाएपनि राति सभापति देउवासँगको छलफलपछि संयुक्त रुपमा उम्मेदवार घोषणा गर्ने सहमति भएको हो ।

देउवा पक्षबाट रेग्मी सभापति पदकी उम्मेदवार हुने भएपछि सिटौला प्यानलकी धना खतिवडा महामन्त्री पदकी उम्मेदवार हुने निश्चित भएको छ । अन्य पदका लागि भने दुवै पक्षबाट छलफल गरेर बुधबार नै टुङ्गो लगाइने छ । यसअघि पौडेल समूहले मीना पाण्डेलाई आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो । पौडेल समूहले पनि आफ्नो प्यानलका अन्य उम्मेदवार बुधबार नै सार्वजनिक गर्ने जनाएको छ । महाधिवशेनमा देशभरबाट आउने करिब दुई हजार २०० जना प्रतिनिधिलाई खान बस्नको उचित व्यवस्थापन भइसकेको र निर्वाचन विद्युतीय मतदान मेसिनबाट हुने जनाइएको छ ।

Mahila Sangh

विशेष