पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्रप्रहरीबीच झडप
भदौ - २९ । पर्सामा भारतीय बालुवा तस्कर र सीमा सुरक्षा बल सशस्त्रप्रहरीबीच झडप भएको छ ।
पर्साको पीपडारीस्थित ओरिया खोलामा बालुवा लिन आएका ट्रयाक्टरलाई नियन्त्रणमा लिन खोज्दा भारततर्फका करिब ३–४ सय स्थानीय उर्लिएर सुरक्षाका लागि खटिएका प्रहरीलाई ढुंगा मुढा गरेर ट्रयाक्टर लगेर गएका छन् ।
निकैबेर भएको तनावका क्रममा भारतीय पक्षको ढुंगा लागेर सशस्त्र प्रहरी हवल्दार राजकुमार माझी र अर्का एक स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन सशस्त्रले ३ राउण्ड हवाई फायर गरेको छ ।
प्रनाउ जोशीले भने, ‘भारतबाट बालुवा लिन आएका ३–४ वटा ट्रयाक्टर सशस्त्रले नियन्त्रणमा लिन खोजेपछि पारीका स्थानीयहरुले थाहा पाए । उर्लिएर आएका ३–४ सय जनाले ट्रयाक्टर खोसेर लगेका र सुरक्षाकर्मीलाई ढुंगा मुढा गरे भन्ने जानकारी आएको छ ।’ भारतको मोतिहारी र बेतनालगायतबा क्षेत्रबाट जहिले सयौंका संख्यामा ट्रयाक्टर बालुवा लिन नेपाली भूमिमा आउने गरेका छन् ।
यसअघि सोही क्षेत्रबाट सशस्त्र प्रहरीका सुरक्षा अधिकारीको हात भाँचेर हतियार लुट्ने सम्मका कृयाकलाप भइसकेका छन् । नेपाल तर्फका स्थानीयका अनुसार सरकारले जम्मा ५–७ जना सुरक्षाकर्मी खटाउँछ । पारीबाट सय–दुई सयको संख्यामा ट्रयाक्टर आउँछन् । त्यसका लोड अनलोड गर्ने कामदार गन्ने हो भने बगर नै भरिन्छ । त्यत्रो हुलको अगाडी दुई चार जना सुरक्षाकर्मीको के लाग्छ, एक स्थानीयले भने, ‘दिन दाहाडै बालुवा तस्करी हुँन्छ ।’ भारततर्फ बालुवा राम्रो नभएको भन्दै उनीहरु नेपालतिरै आउँछन् । दादागिरी गर्दै बालुवा लिएर जान्छन् ।
ती स्थानीयले भने, ‘यो आजको समस्या होइन कयौं अघि देखि यो समस्या रहिआएको छ । कयौं ज्यादती सहनु परेको छ ।’ दुई तर्फका अधिकारीहरुको बैठक भइहाले पनि दीर्घकालिन निर्णय कहिल्यै हुँदैन । समस्या समाधान भयो भन्दै द्विपक्षीय बैठक सकिन्छ । बैठक सकिएको दुई तीन दिनपछि यस्तो ताण्डप सुरु भइहाल्छ ।
jhadap
parsa