News

सामान्य पेट दुखेर उपचार गराउन आएकी महिलाको मृत्यु, गठ्ठाघरस्थित नागरिक अस्पताल तनावग्रस्त

सामान्य पेट दुखेर उपचार गराउन आएकी महिलाको मृत्यु, गठ्ठाघरस्थित नागरिक अस्पताल तनावग्रस्त
nagarik hospital, nk भदाै - २९ । सामान्य पेट दुखेर उपचार गराउन आएकी महिलाको मृत्यु भएपछि बुधबार दिनभर भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल दिनभर तनावग्रस्त बनेको छ । अस्पताल र चिकित्सकको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल खारेजी र चिकित्सकलाई ज्यान मुद्दा लगाउनुपर्ने माग गर्दै पीडित पक्षले अस्पताल घेराउ गरेकाले त्यहाँ दिनभर तनाव भएको हो । मंगलबार अपरान्ह पेट दुखेर उपचार गराउन आएकी सिन्धुली कमलामाई– ६ घर भई हाल लोकन्थली बस्दै आएकी २१ वर्षकी मीना विश्वकर्माको राति पौने १२ बजे मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल घेराउ गरेका हुन् । मृतककी श्रीमान् केशव बराइलीले अस्पताल र चिकित्सकको लापर्बाहीले श्रीमतीको ज्यान गएको आरोप लगाएका छन् । उनले भने–“सामान्य पेट देखेर उपचारका लागि ल्याएका थियौँ, अस्पतालमा नदुख्ने औषधि तेब्बर डोजसमेत दिइयो, बिरामीलाई गाह्रो हुँदै गएपछि अन्य अस्पतालमा लैजान खोज्दा समेत यही ठिक हुन्छ, भनेर राखियो, तर ढिला आएका चिकित्सकले समयमै उपचार नगर्दा मेरो श्रीमतीको ज्यान गयो ।” मृतककी आमाजु बिना बराइलीले चिकित्सक आउछ भनेर कुराएर राख्दा भाइबुहारीको ज्यान गएको आरोप लगाउँदै भनिन्–‘दिउँसो १ बजे लगेको बिरामीलाई ‘आकास्मिक कक्षमै चिकित्सक आउँछन् पख्नुस् भनेर बिरामीको उपचारै नगरी तीनवटा इन्जेक्सन मात्रै दिएर राखे, समयमै उपचार नगर्दा बिरामीको मृत्युभयो ।’ बिरामीको मृत्यु भएलगत्तै रु २० हजार तिरेर शव लैजान अस्पतालले दबाब दिएको बताउँदै उनले भने“हामीलाई क्षतिपूर्ति चाहिँदैन, लापर्बाही गर्ने चिकित्सकद्वय निर्जला बजी तथा जमुना किरण पौडेललाई कारबाही र अस्पताल खारेज गर्नुपर्ने हाम्रो माग छ ।” भक्तपुर अस्पतालमा स्थायी दरबन्दीमा काम गर्दै आएकी प्रसूति रोग विशेषज्ञ डा पौडेल ५.३० बजे पुगेर उपचार सुरु गरेर आइसियुमा राखेपछि बिरामीको राति पौने १२ बजे मृत्यु भएको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ । अस्पतालका सुपरिटेन्डन प्रो डा राकेश बर्माले अस्पतालमा आएको बिरामीको सक्दो उपचार गरेको र उपचारमा खटिएका चिकित्सकको कमजोरी नरहेको दाबी गरे । अस्पतालका निर्देशक सुरेश श्रेष्ठले उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्वीकार्दै भने–“यो अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामीको उपचार हुन्छ, यस्तो अस्पतालमा उपचारमा कहिलेकाहीँ बिरामीको ज्यान जान्छ, यो सामान्य हो, यसलाई गम्भीर रुपमा लिनुहुदैँन ।”  उनले भने“बिरामीका आफन्तले अन्य अस्पतालमा लान्छु भने पनि यही उपचार हुन्छ भनेर राखेका हौ, साँझ ५ बजे आउँछु भनेको डा पौडेल ढिला आउनुभयो, उहाँ आएलगत्तै थप उपचार सुरु गरेका हाैँ, तर बचाउन सकिएन ।”  डा पौडेलले भने भक्तपुर अस्पतालको सकेर आउँदा ढिला भएको बताउँदै बिरामीले एक महिना अगाडि खाएको विषको असर र चिकित्सकको सल्लाह विपरित बिहान बाहिरबाट किनेर खाएको औषधिले असर गरेकाले बिरामीको ज्यान बचाउन नसकिएको दाबी गरे ।  मृतकका आफन्तले भने अस्पताल व्यवस्थापनका विभिन्न व्यक्तिले फोनबाटै क्षतिपूर्ति रकम लिएर शव लैजाउ, अस्पतालमा बबाल नगर भन्दै धम्की दिएको गुनासो गरेका छन् ।  मृतकको शव नबुझी कारबाहीको माग गर्दै दिनभर अस्पताल हाताभित्र आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेकाले प्रहरीले लाठीचार्ज गरेपछि केहीबेर निकै स्थिति तनाव भएको थियो ।

Bhaktapur Nagarik hospital tanabgrasta

विशेष