ताजा खबर News स्वास्थ्य

विदेशीले सिकए नेतालाई व्यायाम

विदेशीले सिकए नेतालाई व्यायाम
yoga भदौ ३० । संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादव अचेल बिहानै राजधानीको टंगालस्थित लक्ष्मी आश्रम पुग्छिन्। रेणु मात्र होइन, विभिन्न ठूला ६ दलका गनेमाने नेता दिनहुँ सखारै टंगालतिर झुल्किन्छन्।

नेताहरू त्यहाँ कुनै राजनीतिक बैठक वा भेटवार्ताका लागि भेला भएका भने होइनन । उनीहरु शारीरिक एवं मानसिक स्फूर्ततानिम्ति व्यायाम (योग) गर्न आश्रम धाइरहेका छन् । योग कक्षाको व्यवस्था भने डेनमार्क सरकारको सहयोगले सम्भव भएको हो ।बिहान ६ देखि ९ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म दैनिक दुई चरणमा सञ्चालन हुने योग कक्षामा प्रवचन दिइन्छ ।

साना–साना काममा पनि विदेशी सहयोगको मुख ताकेको आरोप खेपिरहेका नेता विदेशी सहयोगमा सञ्चालित योगसाधनामा सहभागी भएका हुन् । मंगलबार सुरु सातदिने उक्त योग तथा प्रवचन कक्षामा १२ नेता नियमित सहभागी छन । डेनिस सरकारअन्तर्गतको ’डेनिस इन्स्टिच्युट फर पार्टी एन्ड डेमोक्रेसी’ (डिइपिडी) ले भारतको इशा योगा सेन्टरबाट प्रशिक्षक ल्याई योग सञ्चालन गरेको हो ।

योग कक्षामा नेपाली कांग्रेस नेत्री चित्रलेखा यादव, फोरम लोकतान्त्रिकका जितेन्द्र देव र हेमराज तातड, संघीय समाजवादी फोरम नेपालकी यादव, नेकपा माओवादी केन्द्रका दीनानाथ शर्मा र तमलोपाका सुरेश मण्डल भेटिन्छन् । एमाले नेत्री अष्टलक्ष्मी शाक्य र परशुराम मेघी गुरुङ, विनोद भट्टराई, नयाँ शक्ति नेपालका नेता खिमलाल देवकोटा पनि योग कक्षामा अटाएका छन् । योग सूचीमा भएर पनि समाजवादी फोरमका अर्जुन थापा, तमलोपाका महामन्त्री जितेन्द्र सोनललगायत केही नेता काठमाडौं बाहिर रहेकाले उपस्थित हुन सकेका छैनन् ।

’डेनमार्कको डिइपिडी भन्ने संस्थाले योग सञ्चालन गरिदिएको हो, उसको स्टेयरिङ कमिटीका व्यक्ति पनि त्यसमा सहभागी छन,’ योगका लागि पार्टी नेतालाई पनि बोलाइएपछि आफू पनि सहभागी भएको उनले बताइन् । नेतालाई आफूअनुकूल समयमा योग कक्षामा सहभागी हुन सक्ने व्यवस्था संस्थाले मिलाइदिएको छ । ’उपयुक्त जुनसुकै समयमा प्रशिक्षण लिन सकिने व्यवस्था रहेछ, माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शर्माले भने, ’म बिहानको सिफ्टमा जान्छु ।’ योग र प्रवचनमा सहभागी हुँदा शारीरिक मात्र होइन, मानसिक रुपमा पनि स्फूर्ति बढेको उनले अनुभव सुनाए ।

प्रशिक्षक तनुजाले योग कक्षामा सहभागी नेतालाई ’इगो सर्जरी’, ’सेल्फ रियलाइजेसन’, ’साइलेन्ट रेभुलेसन’ र ’फिजिकल एन्ड मेन्टल थेरापी’ जस्ता विषयमा प्रशिक्षण दिइरहेकी छन्। कार्यक्रममा ओशो रजनीशका भिडियो प्रवचन पनि देखाउने मिलाइएको छ ।

योग नेपालका ’बिग सिक्स’ पार्टीमाथि केन्द्रित छ। संस्थाले कांग्रेस, एमाले, माओवादी केन्द्रसहित तराई–मधेस केन्द्रित तीन दल संघीय समाजवादी फोरम नेपाल, तराईमधेस लोकतान्त्रिक पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक केन्द्रित भएर विभिन्न खालका कार्यक्रम गर्दै आएको छ।

नेपालका ठूला ६ पार्टीका नेता तथा सांसदलाई संघीयता, समावेशिता, धर्म्निरपेक्षता, राज्यसंरचनालगायत विभिन्न विषयमा प्रशिक्षण र तालिम दिँदै आएको उक्त संस्थाले पहिलोपटक योग कार्यक्रममा नेतालाई सहभागी गराएको हो। नेपालको राजनीतिमा प्रभाव पार्ने हैसियतका विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्ति पनि योग प्रशिक्षणमा छन् ।

नयाँशक्तिका देवकोटा भने माओवादी केन्द्रको कोटाबाटै सहभागी हुन पुगेका हुन्। ’मलाई पनि खबर छ, जान भ्याएको छैन, भोलिदेखि जान्छु होला, उनका अनुसार धनगढी, कैलालीमा भएकाले उक्त योगमा सहभागी हुन समय नभएकाले समयसीमाभित्र उपस्थित हुन नसकेको हो ।

नागरिक

yoga Yoga for Leader

विशेष