ताजा खबर News स्वास्थ्य

डा. केसी रोल्पामा बिरामी उपचार गर्दै

डा. केसी रोल्पामा बिरामी उपचार गर्दै
dr-gobinda-kc भदौ ३० । कसैलाई थाहै नदिएर डा. गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गरेका छन्। झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा केसीले बुधबार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर बिरामीको उपचार थालेका हुन्। प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा मिलन बज्राचार्यका अनुसार डा केसी बिहान १०:३० बजे सुलिचौर पुगेका थिए। स्वास्थ्य केन्द्र पुग्नुभन्दा दुई घन्टाअघि मात्र डा केसीले इन्चार्जलाई जानकारी दिएका थिए। मङ्गलबार बिहान काठमाडौँबाट हिँडेका उनी बेलुका सदरमुकाम लिवाङ आएका थिए । सहयोगीबिना एक्लै आएका उनी बुधबार बिहानै सार्वजनिक बसबाट सुलिचौर हिँडेका थिए। यसपटक सदरमुकामबाट करिव २१ किलोमिटर पूर्वको सुलिचौरमा उनले उपचार थालेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार डा केसीले बुधबार पहिलो दिनमै ६० भन्दा बढी बिरामीको उपचार गरेका छन् । बेलुका ५ बजेसम्म ओपिडीमा उनले बिरामी जाँचेका थिए। आफैले बोकेर ल्याएको औषधि बिरामीलाई वितरण गरिएको डा बज्राचार्य बताउँछन्। सरकारलाई असोज २ गतेसम्मको अल्टिमेटम दिएका डा केसी सुलिचौर आएको थाहा पाएपछि बजार क्षेत्रका बिरामी उपचारमा गएका थिए । हाडजोर्नीका विशेषज्ञ केसी सुटुक्क आएकाले धेरै बिरामी आएका छैनन्। 'रोल्पाली विपन्न बिरामीको उपचारमा सघाउने मनसायले आएको हुँ', डा. केसीले पत्रकारसँग कुरा गर्दै सरकारले आफ्ना माग पुरा गर्न गम्भीरता नदेखाएकाले संविधान जारी भएकै दिन असोज ३ गतेको अनसनका लागि यहाँबाट आफू बिहीबार बेलुका नै काठमाडौँ फर्कने बताए। डा केसीले भने, 'दुई दिन भएपनि सेवा दिन आएको हुँ।' विपत्ति परेको बेला मात्र होइन अरुबेला पनि दुर्गम गाउँमा पुगेर बिरामीको उपचार गर्न हौसिने डा केसी दोस्रोपटक आएका हुन्। दुई वर्षअघि उनी जिल्ला अस्पताल, रेउघा आएर स्वास्थ्यकर्मीलाई हाडजोर्नीसम्बन्धी आधारभूत ज्ञानको अभिमुखीकरण गरेका थिए। त्यति बेलापनि बिरामीको उपचार गरेका थिए । शिविर बुधबार र बिहीबार बेलुकीसम्म चल्ने बताइएको छ। चिकित्सा शिक्षा नीति अलपत्र पारेको र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै सरकारलाई नवौँ सत्याग्रहको अल्टिमेटम दिएका डा केसीले आफ्नो माग पूरा नभए रोल्पाबाट फर्केलगत्तै पुनः अनसन सुरु गर्ने बताए।

Gobinda Kc

विशेष