ताजा खबर राजनीति News

प्रधानमन्त्री पुष्पकमल दाहाल दिल्ली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल दिल्ली प्रस्थान

dahal

भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारतको राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् । नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट उनी दिल्ली प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्मीले सलामी दिएर विदाई गरेको थियो ।

प्रधानमन्त्री दाहाललाई विदाई गर्न सभामुख, उपप्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु सहभागी थिए । प्रधानमन्त्री दाहाल केहीबेरपछि नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

भ्रमणमा सरकारी, व्यापारी र मिडियासमेत गरी १ सय १६ सदस्यीय टोली रहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारतको राजकीय भ्रमणमा गएका हुन्।

परराष्ट्रका अनुसार आज प्रधानमन्त्री दाहालले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्। आजै उनले भारतका विभिन्न राजनीतिक दलका नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। भदौ ३१ गते उनको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने गार्ड अफ अनर कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि महात्मा गान्धीको समाधिस्थल राजघाट जानेछन् ।

भदौ ३१ गते नै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सोही दिन केही भारतीय मन्त्रीले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नेछन् ।

असोज १ गते प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशस्थित जलविद्युत परियोजना अवलोकन गर्ने कार्यक्रम छ। सोही दिन पतञ्जली योगपीठको अवलोकन गर्ने जनाइएको छ। भारत भ्रमण बेला प्रधानमन्त्री दाहालले भारतका बौद्धिक वर्ग र व्यापारी समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

दाहाल असोज २ गते नेपाल फर्किने कार्यक्रम छ ।

PM Puspakamal Dahal

विशेष