ऊर्जा मन्त्रीकाे जिल्लामा विद्युत् लाइन काटियाे
भदाै - ३० । ऊर्जा मन्त्री जनार्दन शर्माले विद्युत् महसुल नबुझाउने ग्राहकहरुको बिद्युत लाइन काट्ने अभियान शुरु गरेसँगै रुकुममा पनि यसको कार्यान्वयन थालिएको छ ।
रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समिति रुकुमले पनि बिद्युत महशुल लामो समय सम्म नतिर्ने ग्राहकहरुको लाईन काट्ने अभियान जारी राखेको हो ।
यस अभियानमा ४ सय बढी ग्राहकहरुको लाइन काटिएको छ । उपभोक्ता समितिका अध्यक्ष जोखबहादुर मल्लका अनुसार ऊर्जा मन्त्रीको अभियानलाई सघाउन रुकुममा पनि महसुल नबुझाउने ग्राहकहरुको लाइन काट्ने अभियान थालिएको हो ।
उनले आगामी दिनहरुमा पनि निरन्तर रुपमा अघि बढ्ने बताए । ‘रुकुमका करिब ४ सय बढी ग्राहकहरुको लाइन काटिएको छ’ अध्यक्ष मल्लले भने, ‘लाइन काट्ने अभियान शुरु भएसँगै विद्युत् महशुल बुझाउने पनि बढेका छन् ।’
कार्यालयका अनुसार करिब ४ सय लाइन काटिएकोमा ३ बढी ग्राहकले महशुल तिरेर पुनः जडान समेत गरिसकेका छन । जसबाट ४ लाख बढी रकम महशुल उठेको छ ।
अब करिब १ सय ग्राहकबाट वक्यौता उठाउन बाँकी रहेको छ । तिनीहरुले पनि दैनिक कार्यालयमा आएर महशुल बुझाउँदै लाइन पुनः जोड्ने काम भैरहेको छ ।
हाल रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समितिमा करिब ३३ सय ग्राहकहरु रहेका छन् । विद्युत् महशुल नबुझाउनेहरुमा सर्बसाधारण, कार्यालय, ब्यापारीदेखि राजनैतिक दल र नेता कार्यकर्ता पनि रहेका छन ।
उपभोक्ता समितिले ३ महिना भन्दा लामो समय सम्म महसुल नबुझाउने ग्राहकहरुको लाईन काट्दै आएको थियो । रोकिएको यो अभियान ऊर्जा मन्त्री शर्माले देशब्यापी सञ्चालन गरेपछि रुकुममा पनि कार्यन्वयनमा ल्याइएको हो ।
bidhut line katiyo