बिगमार्टको अर्को ठगी धन्दा, एक दर्जन केरालाई ११४० रुपैयाँ

भदौ ३० । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरभित्र रहेको बिग मार्टले १ दर्जन केराको मूल्य ११४० रुपैयाँ लिएको छ ।
शिवलाल पुरी नामका उपभोक्ताले बुधबार ३ हजार ६ सय ९६ रुपैयाँको किनमेल गरे । उनले १८ किशिमका वस्तु विगमार्टबाट खरिद गरे । ती वस्तुको कुल मूल्य तिरे र सामान लिएर फर्किए ।
तर उनी आफूले किनको वस्तुको मूल्य नियाल्दा छाँगाबाट खसे जस्तो भए । किनभने उनले दर्जनकै ११४० रुपैयाँ पर्ने केरा न कहिले किनेका थिए, न चाखेका थिए ।
एक कोसा केराको ९५ को दरले १२ वटा केराको ११ सय ४० रुपैयाँ बिगमार्टले लिएको थियो ।
दिनदहाडै ठगिएको महशुस गरेपछि उनले आफ्नो फेसबुकमा पनि लेखे, ‘भाटभटेनीले ग्राहक ठगेको त सुनेको थिएँ । तर आज सिटी सेन्टरभित्र रहेको बिग मार्टले आफैलाई एक दर्जन केराको ११४० रुपैयाँ लिएर ठगी गर्यो । सामान किनेर ढुक्क नहोऔं । बिल हेर्ने बानी गरौं र ठगीबाट बचौं, बचाऔं ।’
केही दिन अघि बिगमार्टमा सरकारी अनुगमन टोलीले सिलबन्दी गरेको थियो । सडेका वस्तु बिक्रीका लागि राखेको भन्दै टोलीले बिगमार्टका धेरै वस्तु जफत पनि गरेको थियो । विभिन्न गलत क्रियाकलापका कारण बिगमार्ट पछिल्लो समय विवादमा तानिँदै आएको छ ।
Banana Price
Bigmart Nepal
City Center

