ठमेल पर्यटन विकास परिषद्मा विवाद चुलियाे
भदाै - ३१। व्यक्ति विशेषको पदावधि लम्बाउने गरी विधान संशोधन प्रक्रिया अघि बढेको भन्दै ठमेल पर्यटन विकास परिषद्मा विवाद चुलिएको छ ।
वर्तमान अध्यक्ष रामशरण थपलियाले आफ्नो पदावधि लम्ब्याउने गरी विधान संशोधन गर्न परिषद्का महासचिवलाई विधान संशोधन संयोजक बनाई मस्यौदा अघि बढाएको भन्दै त्यस विरुद्ध सदस्य खनिएका हुन् ।
परिषद्का सदस्य तथा घरधनीले संयुक्त पत्रकार सम्मेलन गरी परिषद्लाई व्यक्तिमुखी नभई विकासमुखी संस्थाको रुपमा अघि बढाउन अभियान थालिएको बताए ।
परिषद्को विधान अनुसार प्रत्येक व्यक्ति दुई कार्यकालसम्म अध्यक्ष हुन पाउने र एक कार्यकाल दुई वर्षको हुने व्यवस्था छ । तर हालका अध्यक्ष थपलियाले आफ्नो कार्यकाल छ महिना बाँकी हुँदा परिषद्मा छलफलै नगरी विधान संशोधन अघि बढाएको व्यवसायीको आरोप छ । उनीहरुले पाँचवटा बुँदा किटेर संशोधन नगर्न चेतावनी दिँदै हस्ताक्षर अभियान र अन्तक्र्रिया गर्दै आएका छन् ।
पाँच बुँदामा २३ औँ वार्षिक साधारणसभा विधान अनुसार आगामी चैत १५ गतेभित्र अनिवार्य गर्नुपर्ने, सदस्यता शुल्क नवीकरण, दुई पटकको कार्यकाल भन्दा अध्यक्ष पुनःसोही पदका लागि उम्मेदवार हुन नपाउने आदि छन् ।
परिषद्का पूर्व कार्यसमिति सदस्य तथा व्यवसायी भवि शर्माले परिषद्लाई व्यक्तिवादी चरित्रको नभई ‘हाम्रो ठमेल राम्रो ठमेल’ बनाउने अभियानमा आफूहरु लागिपरेको बताए ।
उनले प्रस्तुत पाँच बुँदा बाहेक संस्थाको विकासमा हुनेगरी संशोधन भए आपत्ति नहुने उल्लेख गरे । परिषद्का वार्षिक साधारण सभा आगामी असोज २ गतेका लागि बोलाइएको परिषद्ले जनाएको छ ।
परिषद् कार्यसमिति बैठकले महासचिव गोविन्द पन्थको संयोजकत्वमा एक विधान संशोधन उपसमिति गठन गरेको थियो ।
thamel