साइकल र रिक्सा चालकले पनि अब ट्राफिक नियम पालना गर्नुपर्ने
एजेन्सी — अब संशोधन भएर आउने नयाँ सवारी तथा यातायात व्यवस्था ऐनमा रिक्सा र साइकल चालकले पनि ट्राफिक नियम पालना गर्नु पर्ने व्यवस्था राखिने भएको छ ।
अब सबै सवारी साधनले सडकमा ट्राफिक नियमको पालना गर्नुपर्ने छ । साइकल तथा रिक्सा चालकले ट्राफिक नियम मिच्दा अन्य सवारीसरह कारबाहीको व्यवस्था गरिएको छ ।
ऐनमा साइकल, रिक्सा तथा ठेलागाडा दर्ता गर्नु नपर्ने, ऐन बमोजिम चालक अनुमतिपत्र लिनु नपर्ने व्यवस्था भने यथावत रहनेछ । त्यस्तै दर्ता नहुने ति सवारी चलाउनेले ट्राफिक संकेतको पालना गर्नु पर्ने सम्वन्धमा अहिले स्पष्ट व्यवस्था छैन ।
तर संसदमा दर्ता भइसकेको संसोधनमा भने त्यस्तो संकेतको पालना नगरे सजाय किटान गरिएको छ । ऐनको धारा १७४ मा गरिएको उक्त संसोधन प्रस्तावमा ऐन बमोजिम दर्ता गर्नु नपर्ने वा चालक अनुमतिपत्र लिनु नपर्ने अवस्थाका सवारीको रुपमा प्रयोग हुने साईकल, रिक्सा, ठेला जस्ता साधन चलाउँदा निर्धारित ट्राफिक संकेतको पालना गर्नु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।
त्यस्तै सवारीको नाम उल्लेख गरेको ऐनमा निर्धारित नियम उलंघन गरेमा अरु साधनको जस्तै दण्ड, जरिवानाको व्यवस्था गरिएको छ । अब साइकल, रिक्सा तथा ठेला चालकको कमजोरीको कारण कसैको ज्यान गएमा त्यस्तो चालकलार्ई एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।