स्क्रब टाईफस रोगबाट २ को मृत्यु
असोज १ । गत वैशाखदेखि देखिएको स्क्रब टाईफस रोगबाट हालसम्म जिल्लामा २०५ जना प्रभावित भएका छन् । तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार वैशाखमा एक, जेठमा एक, असारमा ३१, साउनमा ७७ र भदौ महिनामा ९५ जनामा यो रोग देखिएको छ । कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीका अनुसार चितवन मेडिकल कलेजमा १८८, नारायणी सामुदायिक अस्पतालमा नौ र भरतपुर अस्पतालमा आठ जनामा यो रोग देखिएको हो । चितवन मेडिकल कलेजमा उपचाररत चितवन र तनहुँका एकरएक जनाको मृत्यु भएको हो ।
भरतपुर अस्पतालले निःशुल्क रुपमा यो रोगको ल्याव परीक्षण गरिरहेको छ । कार्यालयले २०० कीट उपलब्ध गराएपछि अस्पतालले निःशुल्क परीक्षण गराएको हो । हरेक महिना यो रोगका बिरामीको सङ्ख्या बढ्दै गएपछि कार्यालयले समुदायस्तरसम्म पुग्ने गरी स्थानीय सञ्चारमाध्यम, पम्प्लेट र छलफललगायत माध्यमबाट सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
जिल्लामा रोगको प्रकोप बढेपछि केन्द्रीय टोलीले मुसाको भिसेरा परीक्षण गर्न नमूना सङ्कलन गरेको छ । केसीका अनुसार टोलीले १०० वटा मुसाको जाल हाले पनि १० वटा मुसा समात्न सफल भएको थियो । १० वटा मुसा परीक्षण गर्दा सात वटामा माइट फेला परेको थियो ।
टोलीले स्क्रब टाइफस रोग सङ्क्रमण भएका बिरामीको घरमै पुगेर मुसा समातेको हो । केसीका अनुसार स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, शुक्रराज ट्रपिकल अस्पताल काठमाडौँ, कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौँडा र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि टोलीमा संलग्न थिए ।
srub taifus