News

वागमती नदीमा फाेहाेर गर्ने २ पक्राउ

वागमती नदीमा फाेहाेर गर्ने २ पक्राउ
hatkadi असाेज - ०१ । उपत्यकाका प्रमुख नदीमा प्रदूषण फैलाउने चार जनालाई जरिवाना गरिएको छ । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा फोहर गरिरहेको अवस्थामा भेटिएका चार जनालाई जरिवाना गरिएको हो । आजको सफाइबाट छ मेट्रिक टन फोहर पनि व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाअभियानको १७५ औँ हप्तामा आज वागमती मनोहरा दोभानमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । दोभानको शङ्खमूल क्षेत्रमा मिचिएको वागमती किनारको पाँच रोपनी जग्गा घेरेर उद्यान निर्माण गर्न छुट्याइएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वागमती समिति, काठमाडौँ महानगरपालिका, द रेयुकाई नेपाल, ज्ञान निकेतन विद्यालय लगायत संस्थाको सहभागिता थियो । सफाइको नेतृत्व पूर्व मुख्यसचिव लीलामणि पौड्यालले गरेका थिए । सफाइसँगै शङ्खमूल क्षेत्र आसपासका घरघरमा गई ‘वागमतीमा फोहर नफालौँ’, ‘फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ’, ‘सफाइमा सबै सहभागी बनौँ’ भनी जनचेतनामूलक जागरण फैलाइएको अधिकार सम्पन्न वागमती समितिका सदस्य नारायण श्रेष्ठले जानकारी दिए । त्यस्तै विष्णुमती सफाइको ११० औँ हप्तामा आज डल्लु पुलमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । विष्णुमती किनारमा सुन खोज्ने भन्दै प्लास्टिक बाली प्रदूषण गराउने तीन जनालाई रु पाँच÷पाँँच हजारका दरले रु १५ हजार जरिवाना गरिएको महानगरपालिका नगर प्रहरी सहायक निरीक्षक जनार्दन अधिकारीले बताएका हुन् । “कारबाही पर्नेमा कमरुद्दिन साह, अस्कर अली र रामनरेश राय छन्, शङ्खमूलमा प्रदूषण फैलाएर मासु बेच्ने मङ्गल खड्गीलाई पनि रु एक हजार कारबाही गरिएको छ”–उनले जानकारी दिएका छन् । विष्णुमती किनारमा गत हप्ता सफा गरेको स्थानमा फोहर फाल्ने शेखर महर्जनलाई आइन्दा फोहर नफाल्न चेतावनी दिइएको नगर प्रहरीले जनाएको छ । उपत्यकाका रुद्रमती (धोबीखोला), नख्खुखोला र गुहेश्वरीमाथिको वागमतीमा पनि आज सफाइ गरिएको वागमती सफाइ महाअभियानले जनाएको छ । रासस

Bagmati river Pakrau phohor

विशेष