ताजा खबर राजनीति News

भारत भ्रमण सफल : प्रधानमन्त्री

भारत भ्रमण सफल : प्रधानमन्त्री

pm-prachanda-1 असोज २ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको बताएका छन् । नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अब नेपाल र भारतबीच नयाँ सम्बन्धको सुरुवात भएको र त्यसले दीर्घकालीन महत्व राख्ने बताए । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विषयमा खुलेर कुराकानी भएको उल्लेख गरे ।

‘मैले भारतीय प्रधानमन्त्रीसँग खुलेर दिलदेखि नै कुरा गरे । म भ्रमणबाट पूर्ण सन्तुष्ट छु । यसले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । मैले विश्वास लिएको छु, भ्रमण पूर्णरुपमा सफल भएको छ ।’ उनले भने

संविधान लेखन प्रक्रियादेखि नै असन्तुष्टि जनाउँदै आएका पक्षसँगको सहमतिमा नै नेपालको संविधान संशोधन प्रक्रिया अगाडि बढाउने उनको कथन थियो । ‘सबैको सहमतिमा सर्वमान्य तवरले संविधान संशोधन हुन्छ । त्यो प्रक्रिया ऐतिहासिक हुन्छ भन्ने मेरो ठहर छ ।’ नेपालको संविधान सहजरुपमा कार्यान्वयन हुने प्रक्रियामा अगाडि बढेको र नेपालको आन्तरिक विषय आन्तरिक तवरबाटै हल गर्न आफू र आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको कथन थियो ।

नेपालको समग्र विषय भारतले विशेष प्राथमिकतामा राखेको र नेपालप्रति आपसी हित र चासोमा विशेष ध्यान दिएको भन्दै प्रधानमन्त्रीले साझा चासो र हितमा एकआपसमा मिलेर काम गरिने उल्लेख गरे ।

नेपालको जलविद्युत् विकास, भौतिक पूर्वाधार एवम् पर्यटनका क्षेत्रमा उल्लेखनीय रुपमा सहयोग गर्न भारत सरकार तयार रहेको भन्दै प्रधानमन्त्रीले संविधानको कार्यान्वयनसँगै आर्थिक समुन्नतिको दिशामा अगाडि बढाउन वर्तमान सरकार प्रतिबद्ध रहेको र त्यसमा भारतको पूर्ण सहयोग रहने बताए ।

लामो समयदेखि रोकिँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना, अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई गति दिन भारत सरकार सहमत भएको भन्दै प्रधानमन्त्रीले हुलाकी सडक, सीमा सुरक्षालगायत विषयमा महत्वपूर्ण सहमति एवम् समझदारी भएको समेत बताए ।

नेपाल लगानीका लागि उपयुक्त गन्तव्य रहेको सन्दर्भमा भारतीय लगानीकर्ता तथा उद्योगी व्यवसायीलाई लगानीका लागि आफूले आग्रह गरेको जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले यसबाट आर्थिक समृद्धिको मार्गसमेत प्रशस्त भएको उल्लेख गरे । भारतीय पक्ष निर्माणाधीन आयोजनालाई दु्रतरुपमा अगाडि बढाउन सहमत भएको भन्दै प्रधानमन्त्रीले ऊर्जा, रेल सञ्जाल र सडक सञ्जालको विकास प्रक्रियाले समेत गतिलिने स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले समकक्षी प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, उद्योगी व्यवसायी, पत्रकार लगायतसँग महत्वपूर्ण छलफल भएको र द्विपक्षीय हित तथा चासोका बारेमा विचार विमर्श भएको बताए ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र सचिव शङ्करदास बैरागी लगायतको सहभागिता रहेको थियो । प्रधानमन्त्री आफ्नो चारदिने राजकीय भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

PM India Vissit

विशेष