News

नियमित बजार अनुगमन नहुँदा कालोबजारी बढ्याे

नियमित बजार अनुगमन नहुँदा कालोबजारी  बढ्याे
असाेज - ०२ । सिन्धुलीमा बजारक्षेत्रमा नियमित बजार अनुगमन नहुँदा कालोबजारी बढ्न थालेको छ । bajar जिल्ला प्रशासन कार्यालयले यस आर्थिक वर्षमा अहिलेसम्म दुई पटक अनुगमन गरेकामा एक पटकमात्र पेय पदार्थका मिति नाघेका ७४ सिसी नियन्त्रणमा लिई नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी वासुप्रसाद काफ्लेले बताएका छन् । बजार अनुगमन गरिएको र दर्ताबिना सञ्चालनमा रहेका र मूल्यसूची टाँस नगर्ने पसललाई दर्तासँगै मूल्यसूची टाँस्न निर्देशन दिएको उनको भनाइ छ । हरेक पटक हुने अनुगमन सिन्धुली सदरमुकाममा केन्द्रित भएको र कालाबजारीयाबाट ठगी गर्ने गरेको उजुरीमा प्रशासनबाट कुनै सुनुवाइ नभएको आरोप स्थानीय बासिन्दाको छ । गत आर्थिक वर्षमा आठपटक अनुगम भएकामा यस आर्थिक वर्षमा दुईपटक अनुगमन भएको, अनुगमनमा कुनै पनि सामग्री जफत वा कारबाही नगरिएको पाइएकाले अनुगमन झारा टार्ने काम मात्र भएको उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष इन्द्र भुजेलले बताए । उनले भने– ‘‘अनुगमनको नाममा बजारमा डुल्न टोली जान्छ तर मिति गुज्रिएको खाद्य वस्तु जफत गर्ने वा बढी मूल्य लिई उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही गर्ने काम भएको छैन । सिन्धुली देशकै सबैभन्दा बढी कालोबजारी हुने ठाउँका रुपमा विकसित हुँदैछ ।’’ सिन्धुलीमा साना बजार करिब २० भन्दामाथि रहेकामा अधिकांश बजारका पसल बिनाअनुमति सञ्चालमा रहेको र तिनमा आफूखुसी मूल्य राखिएका उजुरी पर्दा पनि अनुगमन हुन नसकेको अध्यक्ष भुजेलले बताए । तर दूधौली, डकाहा, हत्पते, चकमके र झागाझोलीमा उद्योग वाणिज्य सङ्घको शाखा नै गठन भई काम गरिरहेको छ । उद्योग वाणिज्य सङ्घको शाखा सञ्चालन भएका स्थानमा शाखा कार्यालयलाई अनुगमन गर्न पटक÷पटक पत्रचार गरेको र बेलाबेलमा अनुगमन प्रतिवेदन जिल्ला शाखामा आउने गरेको सङ्घका जिल्ला अध्यक्ष विनेशकुमार श्रेष्ठले बताए । प्रत्येक महिना दुईपटक बजार अनुगमन गर्ने योजना भए पनि प्रशासनमा जनशक्ति र साधनस्रोतको कमीका कारण नियमित अनुगमन हुन नसकेको जिल्लासहायक प्रजिअ काफ्लेले बताएका हुन् ।

bajar anugaman kalo bajari

विशेष