News समाज

तीतो सङ्घर्षबाट प्राप्त गरेको रुपाको सफलता यस्ताे छ

तीतो सङ्घर्षबाट प्राप्त गरेको रुपाको सफलता यस्ताे छ
  असाेज - ०२ । कनकाई–१ की रुपा मैनाली ओली सिलाइ–बुनाइबाटै महिनाको रु ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएकी छिन् । जिल्लाकै उत्कृष्ट ‘ड्रेस डिजाइनर’ ओलीले दैनिक १५ देखि २० महिलालाई प्रशिक्षण दिएरै सो आम्दानी गर्दै आएकी हुन् । सुरुङ्गा चोकदेखि २०० मिटर दक्षिणमा उनको सिलाइकटाइ डिजाइनर सेन्टर छ । उनले सिलाइकटाइसँगै चाहिने सबै किसिमका सामग्रीको पसल खोलेकी छिन् । उनले सिलाएका मखमलका ब्लाउज, लेहङ्गा, अनारकली र मटकली अस्ट्रेलिया र अमेरिकासम्म पुग्ने गर्छ । rupa mainali मेहनतकै फल भन्नुपर्छ, उनलाई यतिबेला पैसाको खाँचो छैन । चल्तीको महिनामा खर्च कटाएर पनि रु एकदेखि रु दुई लाख र अन्य समयमा भने रु ५० हजारसम्म आम्दानी हुने रुपाले बताइन् । उनी भन्छिन्–“मैले सीप सिकाएका धेरै दिदीबहिनी अहिले सिलाइ सेन्टर खोलेर स्वरोजगार भएका छन् । कति त प्रशिक्षक नै छन् ।” रुपाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट ‘ड्रेसमेकर’को तालिम पूरा गरेकी हुन् ।   विसं २०३५ मा जन्मिएकी झापा चकचकी–७ की रुपाको त्यहाँसम्म आउनका लागि गरेको दुःख र सास्तीको कथा लामो छ । विसं २०५४ मा कनकाई क्याम्पस पढ्दै गर्दा स्थानीय मार्सल आर्टका प्रशिक्षक पशुपति ओलीसँग विवाह भयो । विवाहपश्चात् काठमाडौँ पुगेका ओली दम्पती लामो समयसँगै बस्न पाएनन् । रुपा सिनामङ्गलस्थित पिस प्वाइन्ट बोर्डिङ स्कुलमा पढाउन थालिन् । पशुपति भने सिङ्गापुर जान तयार भए । तर उनीहरूसँग पैसा थिएन । आफूले काम गर्ने स्कुलमा एक वर्षभरिको तलब मागेर रुपाले उनलाई सिङ्गापुर पठाइन् । सिङ्गापुर पुगेका पशुपतिले धेरै पैसा पठाउँछन् र सुख पाइएला भन्ने रुपाको सोच क्षणमै चकनाचुर भयो । झन् सङ्कट आइलाग्यो, पशुपति सम्पर्कविहीन भए । वर्षभरिको तलब एकैचोटि ल्याएर श्रीमानलाई सिङ्गापुर पठाएकी उनले त्यसपछि स्कुलसँगै ट्युसन पढाएर दैनिकी चलाइन् । डेढ वर्षपछि श्रीमान् आइपुगे । उनी खुसीले पुलकित भइन् । त्यस बेलासम्ममा उनीसँगै छोरा रोवर्ट पनि थियो । तर त्यो खुसी क्षणभर टिक्न सकेन । आएको केही दिनदेखि नै पशुपति र उनीबीच झगडा सुरु भयो । त्यसपछि छिटो पैसा कमाउने भन्दै पशुपतिले सिङ्गापुर लैजाने बहाना बनाएर आफन्त, नातागोता र अन्यसँग रु १३ लाख असुलेर भागेपछि रुपालाई प्रहरीले हनुमान ढोका पु¥यायो । उनी भन्छिन्–“उसका सबै कर्तुत प्रहरीलाई भनिदिएँ, अनि म छुटे ।” त्यसपछि ओली दम्पती झापा फर्किएँ । दैनिक रक्सी सेवन गरेर परिवारलाई दुःख दिन थालेपछि परिवारकै सल्लाहमा पशुपतिलाई विदेश पठाउने निर्णय भयो । साहुसँग ऋण खोजेर विदेश पठाएको श्रीमान्ले काठमाडाैँ तिरै बस्ने चरिकोटकी अर्की केटीसँग विवाह गरे । “दुःख पाएपछि जागिर खोजेँ, तर कतै केही पाइन”, रुपाले अलि भावुक मुद्रामा भनिन्–“अनि सिलाइबुनाइ सिकेँ, बुबाले मेसिन खरिद गरी दिनुभयो र व्यवसाय पनि सुरु गरेँ ।” तर त्यतिबेला त्यति सजिलो थिएन कपडा सिलाउने काम । सुरुका दिनमा परिवारका अग्रजबाट पनि हौसला पाइनन् उनले । काम सिक्न आउनेलाई पनि गाली गर्ने र आफूलाई पनि ‘के लुगा सिलाएर बसेकी’ भनेर मानसिक यातना दिने काम परिवारबाटै भयो । तर पनि उनले व्यवसायलाई निरन्तरता दिइन् । २०६३ सालमा दोस्री पत्नीले पनि छोडेपछि पशुपति घर फर्किए । पशुपतिको शारीरिक र मानसिक यातनाले उनी बिरामी भइन् । “खाली तनावमै बाँच्नुपथ्र्यो, जीवनदेखि हार खाएर एकपटक विष पनि पिएँ”, उनले थपिन्–“आफन्तले उपचारका लागि धरान बिपी मेमोरियल पुर्‍याएर बचाँएछन्, फेरि बाँचेर केही गर्ने अभिलाषा ममा जाग्यो ।” रुपाका माइतीपक्षले अस्पतालबाट फर्किएपछि उनलाई पशुपतिसँग नजान सुझाए । त्यही अनुरुप उनले कनकाई कलेजमा डेरा गरी पढ्दै गरेका बहिनीहरूसँगै बसेर पुनः सिलाइबुनाइ व्यवसाय सुरु गरिन् । एउटा मेसिनबाट सुरु गरेको व्यवसायले मनग्यै आम्दानी दिएपछि आफ्नोे आत्मबल बढेको उनी बताउँछिन् । छोरालाई त्यही व्यवसाय सञ्चालन गरेर ११ कक्षामा पढाइरहेको उनले बताइन् । यही व्यवसायबाट सुरुङ्गामा ३५ लाखमा जग्गासमेत खरिद गरेकी छिन् । रुपाको मात्र होइन यतिबेला थुप्रै हिंसापीडित महिलाको सहारा बनेको छ, सिलाइकटाइ । त्रिदेव क्याम्पसकी अध्यापिका सावित्रा दाहाल पनि यसमा सहमत छिन् । पछिल्लो समय सिलाइबुनाइ व्यवसायमा महिलाको आषर्कण बढ्दै गएको उनको टिप्पणी छ । उनले भनिन्– “महिलामा आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतनाको विकास भएको र सानो पुँजीबाट सुरु गर्न सकिने हुँदा यो व्यवसायमा महिला बढी आकर्षित छन् ।”

Jhapa rupa mainali

विशेष